सिन्धुली । बाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ । कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो ।
मन्त्रालयले प्रदेश मातहतमा रहेका र अक्सिजन प्लान्ट नजोडिएका आठ अस्पतालमा अक्सिजन प्लान्ट जोड्ने निर्णय सहित टेन्डर आह्वान गरेको हो । काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङको धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरिएको बताएकी छिन । प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यसअघि नै अक्जिन प्लान्ट सञ्चालनमा आएका छन । प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको बस्नेतले बताईन ।
मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छिन । सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढे सँगै बागमती प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको छ ।





















