सिन्धुली । कोभिड १९ का कारण जिल्लामा थप एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं. ५ का ६२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोभिड अस्पतालमा बैशाख २९ गतेदेखि उपचाररत उनको थप उपचारका लागि चितवन रिफर गरिएको थियो । स्वासप्रस्वासमा अत्यधिक समस्या देखिएपछि अस्पतालले रिफर गरेको थियो ।
उनलाई अस्पताल लाँदै गर्दा कमलामाई नगरपालिका ७ को बुका नजिक पुगेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो सँगै जिल्लामा कोभिड १९ को दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन । यस्तै जिल्लामा मंगलबार ४ जना कोभिड निको भएर डिस्चार्ज भएका छन । हिजो दुधौलीका ३८ जना डिस्चार्ज भएका थिए । यो सँगै जिल्लामा कोभिड १९ संक्रमण मुक्त हुनेको संख्या ८९ पुगेको छ ।
यस्तै मंगलबार जिल्लामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । १०७ जनाको रिपोर्ट आएकोमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोभिड १९ फोकल पर्सन सन्तोष कुमार माझीले बताएका छन ।
जिल्लामा कोभिड संक्रमितको संख्या ७ सय ७ जना पुगेको छ । जसमा ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमित मध्ये ५ सय ९१ जना होम आइसोलेसनमा छन भने २३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन ।




















