सिन्धुली । जिल्लामा शनिबार ५१ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन । विहान ३८ जनामा नयाँ संक्रमण देखिएकोमा शनिबार साँझ आएको रिपोर्टमा २३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोभिड १९ फोकल पर्सन सन्तोष कुमार माझीले बताएका छन ।
उनका अनुसार साँझ आएको रिपोर्टमा १४ जना कमलामाई नगरपालिका र ९ जना फिक्कल गाउँपालिकाका व्यक्तिहरु रहेका छन । ८५ जनाको पिसिआर परिक्षणको रिपोर्ट आएकोमा ५१ जना संक्रमित भेटिएका हुन ।
यस्तै एन्टिजेन विधिबाट जाँच गर्दा ३ जनामा संक्रमण देखिएको छ । यो सहित जिल्लामा संक्रमित हुनेको संख्या ५ सय ५९ पुगेको छ । संक्रमित मध्ये ३८ जना निको भईसकेका छन । शनिबार सिन्धुलीमा १४ जनाले कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । जिल्लाका कमलामाई नगरपालिकाका ४ जना, सुनकोशी गाउँपालिकाका ९ जना र मरिण गाउँपालिकाका १ जना संक्रमणमुक्त भएका हुन । उनीहरु सहित हालसम्म ३८ जनाले कोरोना जितेको माझीले बताए । हालसम्म कोरोनाको नयाँ भेरियन्टका कारण ६ जनाले ज्यान गुमाएका छन ।
हाल ४ सय ९२ जना आइसोलेसनमा उपचार गराईरहेका छन । ति मध्ये १७ जना कोभिड १९ अस्पतालमा उपचाररत रहेका छन भने ४ सय ७५ जना होम आइसोलेसनमा रहेका छन ।
कुन पालिकामा कति संक्रमित ?
जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ । कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली नगरपालिकामा १ सय ३० जना, मरिण गाउँपालिकामा ८५, सुनकोशी गाउँपालिकामा ५६, तिनपाटन गाउँपालिकामा ४३ जना संक्रमित रहेको माझीले बताए ।
उनका अनुसार फिक्कल गाउँपालिकामा १३ जना, गोलञ्जोर गाउँपालिकामा ७ जना, घ्याङ्लेख गाउँपालिकामा ८ जना र हरिहरपुरगढी गाउँपालिकामा ६ जना संक्रमित रहेका छन ।




















