सिन्धुली । जिल्लामा चलिरहेको राष्ट्रिय परिचय पत्र वितरण अभियान स्थगित गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अभियान चलिरहेको सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोटमा कोभिड १९ संक्रमण देखिएकाले उक्त अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।
विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिडको संक्रमण दर बढेकाले जिल्लाका विभिन्न स्थानमा रहेका स्थायी प्रकृतिका पसल, डिपार्टमेन्ट स्टोर, होटल लगाएतका व्यापारिक केन्द्रहरु स्वास्थ्यका मापदण्ड नअपनाई सञ्चालनमा आएको पाईएकाले स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाई सञ्चालनमा ल्याउन सबै स्थानीय तह र उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले सबै स्थानीय तहमा कन्ट्रयाक ट्रेसिङलाई बढाउन अनुरोध गर्ने, कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई थप व्यवस्थित बनाउने, एपोलो अस्पतालमा गत वर्ष बनाईएको आइसोलेसन सञ्चालनमा ल्याउन कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय र सिन्धुली अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले घ्याङलेख गाउँपालिका र तिनपाटन गाउँपालिकामा कार्यरत मेडिकल अफिसरहरुलाई काजमा खटाउन गाउँपालिकाहरुसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ ।





















