सिन्धुली । नेकपा सिन्धुलीको पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको छ । नेकपाका ओली र नेकपा प्रचण्ड माधव समूहको कार्यक्रम आइतबार पार्टी कार्यालयमा राखिएपछि स्थानीय प्रशासनले दुवै पक्षलाई कार्यक्रम गर्न नदिएको हो ।
नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगबाट आधिकारिकता नपाएसम्म कार्यालय प्रयोग नगर्ने सहमति गरेका छन् । पार्टी र चिन्हको आधिकारिकता नपाउन्जेल दुवै पक्षले पार्टी कार्यालय नखोल्ने निर्णय भएको हो ।
दुवै पक्षको कार्यक्रम एकै मिति र समयमा पार्टी कार्यालयमा तय भएपछि झडपको स्थिति हुन सक्ने भन्दै स्थानीय प्रशासनले पार्टी कार्यालयमा कार्यक्रम नगर्न समन्वयात्मक अनुरोध गरेको थियो ।
तथापी सहमति भए पनि सम्भावित क्षतिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विहानै देखि दिनभर नै पार्टी कार्यालय आसपासमा सुरक्षाकर्मीहरु खटाएको थियो । ओली पक्षको कमलामाई नगर कमिटिको भेला तथा बैठक र प्रचण्ड माधव नेपाल पक्षको जिल्ला भेला तथा बैठकका साथै विरोध प्रदर्शन रहेको थियो ।
यस्तै सिन्धुलीमाढीमा सुरक्षा सतर्कता दिनभर उच्च पारिएको थियो । जनपथ प्रहरी र सशस्त्र प्रहरीको बजारभर तैनाथी थियो ।
स्थानीय प्रशासनको समन्वयमा दुवै पक्षले पार्टी कार्यालयको कार्यक्रम सारे पछि दुवै पक्ष पार्टी कार्यालयमा प्रवेश गरेनन । ओली पक्षको कार्यक्रम कमलामाई पार्टी प्यालेसमा भयो भने दाहाल नेपाल पक्षको कार्यक्रम खुलामञ्चमा गरिएको छ ।





















