तनहुँ जिल्लाको तत्कालिन अरुणदय गाविसमा २०१६ सालमा बुवा बलराम सिग्देल र आमा राधिका सिग्देलको कोखबाट जन्मेकी जानुका सिग्देल –दाहाल) पेशाले स्वास्थ्यकर्मी हुन । उनले ३६ वर्षदेखि सिन्धुलीको स्वास्थ्य क्षेत्रमा योगदान दिईरहेकी छिन । उनले दिएको सेवाले कति महिला तथा बालबालिकाले पुनर्जीवन पाएका छन । निरन्तर स्वास्थ्य सेवामा रहेकी उनी हाल सिन्धुली अस्पतालको प्रसुति वार्डमा सिनियर अनमीका रुपमा काम गर्छिन । अवकाश प्राप्त गरेको २ वर्ष भए पनि उनलाई इमान्दार र अनुभव प्राप्त स्वास्थ्यकर्मी भएकाले अस्पतालले करारमा सेवा गर्ने गरि निरन्तर राखि रहेको छ । हाल उनी परिवारसँगै कमलामाई नगरपालिकाको वडा नं. ६ रातामाटामा रहेको घरमा बस्छिन । उनै दाहालसँग गरिएको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

सिन्धुली कहिले आउनुभयो ?
म २०४१ सालमा लोकसेवाबाट अनमी पदको सुरु नियुक्ति लिएर सिन्धुलीको इलाका हेल्थ पोष्ट ग्वालटारमा आएँ । उक्त स्थानमा मैले २० वर्ष निरन्तर सेवा गरें । त्यसपछि सिन्धुली अस्पतालमा सेवा गरेकी छु । त्यसपछि सिनियर अनमी भरतपुर चितवनमा पढीसकेपछि मैले सिन्धुली अस्पतालमा निरन्तर सेवा गरिरहेकी छु । सरकारी सेवाबाट अवकाश पाएको डेढ वर्ष भयो । हाल करारमा काम गरिरहेकी छु ।
अस्पतालले किन तपाईलाई अवकाश भएर पनि छोडेन ?
म अवकाश हुदा कर्मचारी समायोजनको समय थियो । समायोजनमा सबै स्टाफहरु जानुभयो । यहाँ आइपुग्नेहरु पनि आईपुग्नु भएन । अस्पतालका डाक्टर र नर्सले स्टाफहरु आएपछि छोड्न मन लागे छोड्नुहोला हाललाई नछोड्नुस भनेर अनुरोध गर्नु भयो । म नियमित नै ड्युटिमा आएर सेवा गरेँ । अहिले पनि दिदीले हेर्दिनु न, सबैले विश्वास गर्छन, विरामी पनि खुशी हुन्छन भनेर अनुरोध गरेपछि करारमा काम गरिरहेकी छु ।
सेवा अवधिमा कति जना महिलालाई प्रसुति लगाएतका सेवा दिनु भयो ?
गर्भवति त कति हेरें त्यसको तथ्यांक त भन्न सक्दिन । धेरै नै हेरेकी छु । सुत्केरी महिला पनि ३ हजार जति सुत्केरी महिलाको सेवा गरेकी छु ।
काम गर्दा आनन्द आएको कुनै त्यस्तो सुत्केरी स्याहार गर्नु भएको छ ?
छ, कमलामाईका एक जना पुजारी हुनुहुन्छ । जो गरिब पनि हुनुहुन्छ । उहाँको श्रीमतिको पाठेघरै सहित बाहिर निस्केर आउनु भएको थियो । त्यतिबेला डाक्टरले सिस्टर यसलाई बाहिर पठाईदिउँ यहाँ हुदैन भन्नुभयो । गरिबपन देखें, बाहिर लान नसक्ने अवस्था देखें, के गर्ने होला भन्ने भयो । बच्चा मरिसकेको थियो । बच्चाले टाउको निकाल्न सकेको थिएन । बच्चाको टाउकोको पानी निकालेर बच्चा छुट्याइयो र पाठेघर भित्र हुलियो र उपचार गरेर पठायौं । पाठेघर त निस्किने भयो । पछि पाठेघर अप्रेशन गर्ने शिविर आयो । त्यहि शिविरमा उनको पाठेघरको अप्रेशन गराईयो । अहिले उनको स्वास्थ्य राम्रो छ । अर्को ग्वालटारको घटना हो । जुन पाठेघर फुटेर पाठेघर सहित बच्चा निस्कियो, बाहिर लान सुनकोशी बढेको थियो सम्भव थिएन । जे जति जानेको थिएँ त्यहि अनुसार बच्चा निकालेर पाठेघर सिलाएर भित्र हालिदिएँ । उनी बाँचिन । उनले पछि काठमान्डौ गएर थप उपचार गरिन । त्यो बच्चा अहिले साँच्चिकैको आमा भेट्न जान्छु भन्छ रे ? ती महिला, उनकी सासु मलाई भेट्न पनि आएका थिए । जसले आनन्द दिन्छ । यस्ता घटना थुप्रै छन । जुन कामले उनीहरुको जीवन बचाएको छ । मनलाई नै आनन्द बनाउँछ । आफुले गरेको काममा गर्व लाग्छ ।
तपाईले सेवा सुरु गर्दा र अहिलेको स्वास्थ्य अवस्था कस्तो छ ?
कति फरक छ नी । मैले सेवा सुरु गर्दा हेल्थपोष्टमा बस्न सक्ने अवस्था थिएन । म त परिवार सँगै भएकाले काम गर्न सकें । कर्मचारी बस्दैन थिए । सबै आफै गर्नुपथ्र्यो । सल्लाह लिने दिने कोहि हुदैनथ्यो । रात दिन काम गर्थें । अहिले त सल्लाह लिन पाईन्छ । डाक्टरहरु बस्छन सोधेर काम गर्न पाइन्छ । पहिले भन्दा अहिले प्रविधि पनि आएको छ । त्यतिबेला कम लेखपढ भएका हामी जस्ता स्वास्थ्यकर्मीलाई काम गर्न समस्या हुन्थ्यो । काम गर्दै जाँदा अनुभव भयो । काम गरियो ।
तपाई स्वास्थ्य सेवामा आउँदा महिलाको अवस्था के थियो ? अहिले कस्तो छ ?
२०४१ सालमा म आउँदा जनसंख्या नै कम थियो । स्वास्थ्य सेवाको पहुँच पनि कम थियो । महिला स्वास्थ्यकर्मी पनि कम थिए । मैले २० वर्ष बस्दा परिवार नियोजनका साधन प्रयोगलाई बढाएँ । काउन्सिलिङ गरेर त्यतिबेला डेढ दुई सय जनालाई डिपो लगाइन्थ्यो । तत्कालिन वितिजोर, बासेश्वर, डुँडभञ्ज्याङ, रतनचुरा, तिनकन्या, भुवनेश्वरीका महिलाले सेवा लिन्थे । त्यतिबेला साथि कोहि हुदैनथ्यो । ज्ञान कम भए पनि सबै काम गर्नुपर्ने बाध्यता थियो । अहिले सिक्ने अवसर पनि छ । बोलीले हो वा के हो विरामी खुशी नै भएको पाउँछु । सबैलाई नसके पनि धेरैलाई खुशी बनाएको जस्तो लाग्छ । त्यसले पनि आफुलाई खुशी मिलेको छ । त्यसैले पनि सेवामा निरन्तर छु ।
साँच्चिकै आफ्नो कामको मुल्यांकन भयो भन्ने कुनै दिन छ ?
छ । मलाई भुवनेश्वरी गाविसले दुई पटकसम्म सम्मान गरेको छ । महिला मान्छे, दुर्गम ठाउँमा आएर अहोरात्र सेवा गरेको भनेर नगद सहित पुरस्कृत गरेको थियो । त्यो पैसाले नासिन्छ भनेर मैले सुनको चुरा बनाएर लगाएँ । अनि सिन्धुली अस्पताले पनि मलाई एक पटक ग्रेड थप ग¥यो, डा. सुमित्रा गौतम मेडिकल सुपरिटेन्डेन हुदा मलाई पुरस्कृत गरिएको थियो । बेला बेलामा राम्रो काम गर्ने मान्छे हो नाम लिनुहुन्छ । त्यो नै मेरो लागि खुशीको कुरा हो ।
निरन्तर सेवा खटिने नर्सहरुलाई राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
जनमानसमा के छ भने डाक्टर नै सबै थोक हो । तर स्वास्थ्य सेवामा नर्सिङ स्टाफ नभईकन डाक्टरले मात्र केहि पनि हुदैन । नर्सिङ स्टाफको स्वास्थ्य क्षेत्रमा ठूलो भूमिका छ । पहिले त धेरै हेयको दृष्टिले पनि हेर्ने गर्थे तर अहिले फरक भएको छ । तथापी राज्यले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । जति गर्नुपर्ने हो त्यति सेवा सुविधा दिएको छैन ।
महिला भएर स्वास्थ्य सेवामा निरन्तर काम गर्दा परिवार, बालबच्चालाई कसरी व्यवस्थापन गर्नुभयो ?
एकदमै खुशी कुरा के भने मेरो श्रीमानको धेरै सहयोग पाएँ । ‘जागिर हो, सेवा हो’ भन्ने बुझिदिनु भयो । जतिखेर पनि जहाँ जाँदा पनि सहयोग नै गर्नुभयो । राती उठेर विरामी हेर्न गाउँ गाउँमा जाँदा पनि बालबच्चा हेरिदिने र पठाउने ग¥यो परिवारले । परिवारको सहयोग विना यो पेशा सम्भव थिएन । तीन महिनाको बच्चा पनि घरमा छोडेर काम गरेँ । श्रीमानले छोरीलाई पाखुराको मासु चुसाएर महिलालाई सुत्केरी गराउन गर्न गाउँमा पठाउनु भयो । म नहुदा छोराछोरीको स्याहार गर्ने, खाना खुवाउने, घरको काम गर्ने सबै काम श्रीमान र परिवारले नै गर्नुभयो ।
हरेक वर्ष राम्रो काम गर्नेहरुका लागि पदक, सम्मान राज्यले वितरण गरिरहँदा आफु त्यसका लागि योग्य छु जस्तो लाग्दैन ?
दुर्गम गाउँमा लामो समय काम गरें । धेरैको जीवन बचाएँ । अरु योग्य हुदा आफु पनि राष्ट्रले दिने सम्मानका लागि योग्य छु जस्तो लाग्छ तर हामी दुरदराजमा निरन्तर काम गर्नेको मुल्यांकन राज्यले गर्न नसक्दो रहेछ । हाम्रो पहुँच नपुग्दो रहेछ । मलाई त सम्मानित हुने केहि चिनजानका व्यक्तिहरुलाई हेर्दा त्यो भन्दा धेरै योग्य छु जस्तो लाग्छ । तर हामी साना कर्मचारीको कुरै त्यहाँसम्म पुग्दैन ।
हिजोको तुलनामा र आजको तुलनामा प्रविधिको हिसावले कति सजिलो छ स्वास्थ्यकर्मीहरुलाई ?
पहिलेको तुलनामा अहिले धेरै सहज छ काम गर्न । पहिले केहि साधनहरु हुदैन थिए । अहिले धेरै मेसिनबाट काम गरिन्छ । पहिले गाउँमा जान यातायातका साधन थिएनन । अहिले धेरै जसो ठाउँमा गाडी चल्छन । पहिले गाउँ गाउँमा पुगेन भने नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्दैनथ्यो । अहिले सञ्चारले नजिक बनाएको छ । यातायातले नजिक बनाएको छ । सदरमुकाममा बस्नेहरुलाई पहिले पनि अलिक सजिलो थियो । सदरमुकाम भन्दा गाह्रो अहिले पनि गाउँमा छ । तर तुलनात्मक हिसाबले अहिले अलि सजिलो छ ।
काम गर्ने बेलामा परिवार, समाज र पेशामा विभेद भोग्नु भयो की नाई ?
परिवारमा विभेद भोगिन । पेशामा कहिलेकाहिँ पुरुषहरु पुरस्कृत हुदा म पनि हुनुपर्ने किन भईन होला भन्ने लाग्छ । पुरुषको मुल्यांकन भयो महिलाको भएन भन्ने लाग्छ । तलबमा विभेद छैन । ग्रेड वृद्धिमा विभेद हुन्छ ।
ड्युटीमा रहदा कति समयसम्म काम गर्नु भएको छ ?
मैले ग्वालटारमा २० वर्ष सेवा गरें । त्यो समयमा मेरो समय भनेको २४ घण्टा ड्युटिको समय हुन्थ्यो । सेवाग्राही जतिवेला आए पनि सेवा दिनै पथ्र्यो । आउन सकिएन, ढिलो भयो भनेपछि सेवा दिनै प¥यो । कहिले काहिँ घरमा लिनै आउँथे । उकालो ओरालो हिडेर गएर पनि उपचार गरियो ।
प्रसुति सेवामै काम गरिरहनु भएको छ, छोरा वा छोरी जन्मिदा गर्ने व्यवहार हेर्दा के लाग्छ ?
अहिले पनि छोरी छोरी भयो भने पुरुषहरु भाग्छन । छोरी जन्मियो भने पछि मुख खुम्चाउँछन । कतिलाई सम्झाउँछौं । कतिलाई सकिदैन । अपशब्द पनि बोल्छन । अहिले पनि विभेद छ । कति धेरै छ । ५० प्रतिशतमा अहिले सुधार आएको छ । मनमा खुल्दुली भए पनि केहि छैन भन्न थालेका छन । उनीहरुलाई काउन्सिलिङ गरेर पठाउने गरेका छौं । सन्तान राम्रो बनाउनुपर्छ छोरी भएर वा छोरा भएर केहि हुदैन भनेर सम्झाउँछौं । कतिले त मान्छन पनि । २ छोरी जन्माई सकेका आमा पनि कहिलेकाहिँ सकमा जाने सम्भावना हुन्छ । त्यस्ता महिलालाई बच्चा नजन्मिदै सम्झाउने गरेका छौं । अब जे जन्मे पनि हुन्छ भन्ने ५० प्रतिशत जति छन । बाँकीमा अझै परिवर्तन आएको छैन ।
विभेदकारी सोंच परिवर्तन गर्न के गर्न सकिन्छ होला ?
मुख्य त मनोसामाजिक परामर्श नै हो । शिक्षा र चेतनाको कमी छ शिक्षामा पहुँच वृद्धि गर्नु पनि हो ।
मनोसामाजिक परामर्श दिदा शिक्षितलाई बुझाउन सजिलो की नबुझेका मान्छेलाई बुझाउन सजिलो हुन्छ ?
कोहि नपढेकाले पनि कुरा बुझ्छन । कोहि शिक्षित भएर पनि कुरा नबुझ्ने पनि हुन्छन । किनभने उ कुन संस्कारबाट हुर्केको छ भन्ने कुराले प्रभाव पार्दछ । संस्कारमा भर पर्दो रहेछ यी कुराहरु । नराम्रो संस्कारमा हुर्केको छ भने पढेलेखेकाले पनि कुरा बुझ्दैनन । राम्रो संस्कारमा हुर्केको छ भने नपढे पनि बुझ्ने हुन्छन ।





















