
सिन्धुलीमा लैंगिक हिंसाको अवस्था के छ ?
विगतका वर्षहरुको र यस वर्षको महिला हिंसाको तथ्यांकलाई तुलना गर्दा मुद्दाको अवस्था उस्तै छ । धेरै नै मुद्दा दर्तामा बढेको देखिदैन । विगत दुई वर्ष अगाडि जुन अनुपातमा लैंगिक हिंसाका घटना भएका थिए त्यहि अनुपातमा नै महिला हिंसाका घटना भएका छन ।
कस्ता कस्ता खालका हिंसाका घटना भएका छन ?
सबै भन्दा बढी हामी कहाँ दर्ता भएका घटनाहरुमा जवर्जस्ती करणी, त्यसपछि घरेलु हिंसा, बहुविवाह, बोक्सीको आरोप लगाएतका घटना पनि छन । गम्भिर प्रकृतिका घटनामा सबै भन्दा बढी देखिएका घटना भनेको जवर्जस्ती करणी नै हो ।
जवर्जस्ती करणीमा महिला, बालिकाको अवस्था के छ ?
जवर्जस्ती करणीका मुद्दामा सबैभन्दा बढी बालिकाहरु नै प्रभावित भएका छन । हाम्रो तथ्यांकमा १८ वर्ष मुनीका बालिकाहरु प्रभावित भएका छन ।
लैगिक हिंसासँग जोडिएका मुद्दाको अनुसन्धानलाई कसरी अगाडि बढाउनु भएको छ ?
प्रहरीमा महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र छ । जुन कार्यान्वयनमा आएको पनि धेरै भईसकेको छ । यसलाई सहि मार्गमा प्रयोग गर्ने भनेको हामीले जो पीडित भएको छ त्यसलाई पीडितले खुलेर राख्न सकोस भन्ने वातावरण बनाउने हो । म आफै महिला भएको कारणले पनि मुद्दा अनुसन्धान गर्न सहज भएको छ । पुरुष प्रहरी प्रमुखले सोध्न नसक्ने कतिपय प्रश्न म अनुसन्धानमा सोध्न सक्छु । लैंगिक हिंसासँग जोडिएका केशमा म प्रत्यक्ष अप्रत्यक्ष निगरानी गरिरहेको हुन्छु । सोधपुछमा म आफै पनि संलग्न हुन्छु । महिला अफिसरसँग जति अनुसन्धानमा महिला बालबालिकाले समस्या राख्न सक्छन । पुरुषसँग सक्दा रहेनछन । कतिपय अवस्थामा सानो प्रश्न सोध्न नसक्दा वा उत्तर नदिदा पनि अनुसन्धान अपुरो हुन सक्ने अवस्था पनि रहन सक्छ । त्यहि भएर पनि जघन्य अपराधमा सजाय पनि जघन्य हुने हुनाले साँच्चिकै घटनामा के भएको थियो भनेर सोध्न र अनुसन्धान गर्न सहज हुने रहेछ । त्यसैले पनि मैले जिल्ला प्रहरीको नेतृत्व गर्दा, अनुसन्धानमा महिला अधिकृत खटाउँदा अनुसन्धानमा सहज भएको छ । महिलाका मुद्दामा महिला अधिकृत खटाएको छु । महिला बालबालिका सेवा केन्द्रलाई प्रभावकारी बनाउने कोशिस भएको छ र महिलाका मुद्दालाई गम्भिर तरिकाले हेर्ने गरिएको छ । कतिपय अवस्थामा पीडितले आफ्ना कुरा लुकाउन खोज्छन त्यस्तो अवस्थामा ओसिएमसी, सेफ हाउससँग पनि आवश्यकता अनुसार समन्वय गरेर अनुसन्धान गर्ने गरेका छौं । कहिले काहिँ मनोसामाजिक उपचार आवश्यक पर्छ ती सबै प्रक्रिया अपनाउने गरिएको छ । तालिम लिएको र नलिएको मान्छेमा फरक पर्छ । तालिम प्राप्त प्रहरीले अनुसन्धानमा कुन वेला के आवश्यक पर्छ थाहा पाउँछ । त्यो अनुसार अनुसन्धान गर्छ ।
पीडकलाई कानुनी दायरामा ल्याउन कत्तिको कठिनाई हुने गरेको छ ?
पीडकलाई कानुनी दायरामा ल्याउनका लागि संवेदनशिलता आवश्यक छ । जुन मेरो चिनेको मान्छे, मेरो नातेदार, मेरो एरियाको, मेरो राजनीतिको भन्ने आउँथ्यो, सिन्धुलीमा म कहाँ त्यस्तो आएको छैन । तर समुदायमा त्यो अवस्था विद्यमान छ । पीडितलाई राख्ने, छलफल गराउने र प्रहरीमा दर्ता भईसकेका मुद्दालाई पनि फिर्ता गर्न लगाउने परम्परा छ । पीडितलाई होस्टाइल गराउनका लागि प्रयत्न भइरहेको छ । पीडितको सुरक्षाका लागि सेफ हाउस आवश्यक हो । होस्टिलिटी रोक्नका लागि पीडित मात्र हैन साक्षिको पनि सुरक्षा गर्न आवश्यक छ । त्यहाँ गएर दवाव दिएर हुन्छ की प्रलोभन दिएर हुन्छ पीडित र साक्षिलाई रोक्न खोजिन्छ । कतिपय मुद्दाहरु प्रहरीमा दर्ता हुन आउन नै रोक्ने गरेको अवस्था पनि छ । पीडितलाई तिमिलाई म यति दिन्छु, यस्तो गर्दिन्छु भन्ने गरेको पाइन्छ । प्रहरीमा आएर मुद्दा दर्ता भएका मुद्दामा हामीलाई विभिन्न शक्ति केन्द्रबाट सिधै फोन आउने, दवाव आउने गरेको छैन ।
प्रहरीले पीडितको सुरक्षा र संरक्षणमा कस्तो खालको भूमिका निर्वाह गरेको छ ?
अहिले हामीले ‘क्विक रेस्पोन्ड’ लाई प्राथमिकता दिएका छौं । जस्तो कुनै ठाउँबाट फोन आयो त्यस्तो ठाउँमा प्रहरी पुगेको हुनुपर्छ भन्छु म । महिला बालबालिकाका सामान्य हिंसाका घटनाहरुमा आँखाले हेरेर आउने र फलोअप पनि गर्ने गरेका छौं । घरेलु हिंसा बाहेकका जघन्य प्रकृतिका घटनामा तुरुन्त ‘रेस्क्यु’ गर्ने र खतराको अवस्थामा रहन नदिई सेफ हाउसमा लाने गरिएको छ । यो हाम्रो अहिलेको रणनीति हो । जुन काम समन्वयमा गरिएको छ । प्रहरी एक्लैले मात्र त्यो गरिरहेको छैन, सहकार्यमा काम गरिरहेका छौं । त्यो भन्दा बाहेक हामीले मिडियासँग पनि समन्वय गरिरहेका छौं । त्यस्तै हामीले जहाँ जहाँ समन्वय र सहकार्य गर्नुपर्छ, त्यहाँ गरिरहेका छौं ।
लैंगिक हिंसाका घटनाको अनुसन्धानमा सरकारी वकिल, स्वास्थ्यसँग कसरी समन्वय गरिरहनु भएको छ ?
हामीले सबैको समन्वयमा नै अनुसन्धानको काम गरिरहेका छौं । कतिपय अवस्थामा मेडिकल रिपोर्ट चाहिने भएकाले स्वास्थ्यसँग समन्वय हुन्छ । कतिपय अवस्थामा कानुनी सल्लाह चाहिन्छ, कतिपय घटनाहरु अप्ठ्यारा खालका हुन्छन, ती घटनामा कानुनी परामर्श चाहिन्छ, हामी कानुनका विज्ञ हैनौं तसर्थ सरकारी वकिलसँग कानुनी र अनुसन्धानमा सहयोग र सल्लाह लिएर काम गर्छौं । कानुनी मार्गनिर्देशनका लागि नै सरकरी वकिल कार्यालय स्थापना भएको हो । कतिपय अवस्थामा उहाँहरुले यो यो कागज पुगेन, त्यसले मुद्दा कमजोर हुन सक्छ भनेमा त्यो पुरा गर्न लाग्छौं । उहाँहरुले अनुसन्धानमा पनि सहयोग गर्नुहुन्छ ।
लैंगिक हिंसाका घटनाहरुको अनुसन्धानमा बाधक तत्वहरु के के हुन ?
पहिलो बाधक तत्व भनेको सामाजिक संरचना र सोंच हो । त्यो ठूलो बाधक तत्व हो । महिला भए पछि सहनुपर्छ भन्ने र कोहि बोली हाल्यो भने समाज विरोधी भन्ने परम्पराले अनुसन्धानमा पनि असर गरिरहेको हुन्छ । जुन चिजले हिंसा भईरहेको छ त्यो चिजमा परिवर्तन खोजेको देखिदैन । राजनीतिक परिवर्तन भए, मानवअधिकारको धेरै कुरा गरिएको छ, सचेतना आएको छ । मानअधिकारका कुराहरु पनि प्रयोगमा आईरहेको छ तर महिला, बालिकाको अधिकार कुरामा आए तर व्यवहारमा परिवर्तन आउन सकेन । अभिनय, फेसन जस्तो भएर आएको छ । १० वर्षदेखि महिला बालबालिकाकै क्षेत्रमा काम गर्दा मैले यो फेसनका रुपमा मात्र आएको पाएँ । भित्रै देखि परिवर्तनको प्रतिक्रिया आउनुपर्नेमा त्यस्तो देखिदैन । जस्तो पिटाई खाईरहेको छ भने कु ठाउँमा प¥यो भने त मर्न पनि सक्छ ? ‘सहि दिउँ न सहि दिउँ’ २, ४ झापड त हो नी त भनेर नभनौं । यसरी सहँदै जाने हो भने महिला हिंसा अन्त्य हुदैन । महिलाले सहनुपर्छ नि त, महिलाले के गरेर खान्छ त ? महिलालाई कस्ले पाल्छ त ? जस्ता कुराहरु आउँछन । महिलालाई पाल्ने रे ? गाईवस्तुलाई जस्तो पाल्ने रे ? यहि सोंच नै महिला हिंसा न्युनिकरणमा बाधक बनेको छ । त्यसैमा दवाव आउने गर्छ । हिंसा गर्नु गलत हो गलत चिजलाई म साथ दिन्न, चाहे मेरो छोरा होस, चाहे त्यो भाई होस वा दिदी बहिनी होस । जुन चिज गलत हो त्यसलाई साथ दिन्न भन्ने स्तरको परिवर्तन आवश्यक छ । इमान्दारिता, मानवता भन्ने चिज नै नहुदा समस्या भएको हो । ‘महिला नै वदमास हो’ भन्ने जस्ता खालका प्रवृति पनि अन्त्य हुन आवश्यक छ । अनावश्यक सडक तताउने, क्लास दिने काम नगरौं । सबैले सोंच बदलौं ।
राजनीतिक दवाव कत्तिको छ ?
महिला हिंसाको मुद्दामा राजनीतिक दवाव मलाई आएको छैन । जिल्लामा बलात्कारपछि गर्भवति भएर आउने मुद्दाहरु पनि आएका छन । हिंसा के हो भन्ने विषयमा म क्लिएर छु । आफ्नो धारणा,सोंचमा क्लियर भएपछि दवाव आउने कुरा हुदैन । यति राजनीतिक दवाव गएको छ भने त्यो समाजमा अर्थात प्रहरी बाहिर पीडितलाई गएको हुन सक्छ ।
लैंगिक हिंसा न्युनिकरणमा स्थानीय सरकार, राजनीतिक दल, अधिकारकर्मीहरु, नागरिक समाजको भूमिका के हुन सक्छ ?
लैंगिक हिंसा न्युनिकरणमा स्थानीय सरकार, राजनीतिक दल, अधिकारकर्मीहरु, नागरिक समाजको भूमिका धेरै हुन्छ । घर घरमा प्रहरी पुग्न सक्दैन तर स्थानीय सरकार पुग्न सक्छ, राजनीतिक दलका कार्यकर्ताहरु पुग्न सक्नुहुन्छ, नागरिक समाज पुग्न सक्छ, अधिकारकर्मीहरु पुग्न सक्नु हुन्छ । धारणा, सोंच परिवर्तन गरेर जानुभयो भने हिंसा कम हुदै जान्छ । भोली हामीले हिंसामुक्त समाजको परिकल्पना गर्ने हो भने अबको लगानी बालबालिकामा गर्ने हो । उनीहरुको हुर्काईमा नै उनीहरुलाई लैंगिक समानता सिकाउने हो । विभेदरहित हुर्काउने हो । परिवारमा हिंसा रहित वातावरण बनाउने हो । महिलालाई नै ‘च्वाईस’ के हो भनेर सिकाउनुपर्ने भएको छ । त्यो लेवलमा शिक्षा चाहियो । केटामा पनि महिलाको जीवन, महिला कै चाहना अनुसार चल्न पाउनुपर्छ भनेर सिकाउनुप¥यो । केटा र केटी मिलेर नै समाज बन्छ भनेर शिक्षामा नै सिकाउन आवश्यक छ । सचेतना हैन, संस्कारमा परिवर्तन ल्याउन आवश्यक छ । जुन भूमिका उहाँहरुले निभाउन सक्नुहुन्छ ।
प्रहरीले घटनामा उचित अनुसन्धान गरेन, मुद्दा दर्ता गर्न आनाकानी ग¥यो, पीडक पक्षधर भयो भन्ने खालका आरोप पनि लाग्ने गरेका छन ? यो आरोप कति सत्य छ ? र यसलाई कसरी चिर्न सकिन्छ ?
जघन्य खालका मुद्दामा प्रहरीले पहिले घटना हो वा होइन भनेर बुझ्न कोशिस गर्छ । दर्ता गरिसकेपछि यो हैन भन्नलाई पनि प्रमाण जुटाउनुपर्ने हुन्छ । अर्को कुरा यस्ता घटनाहरु लुकाएर, दवाएर धेरै पुरानो बनाएर ल्याएका हुन्छन, जसमा भौतिक प्रमाण रहदैन । कहिले काहिं संवेदनशिलताले पनि काम गर्छ । प्रहरी पनि यहि समाजको उपज हो । त्यहिंको सिकाई र हुकाई हो । प्रहरी पनि कुनै मंगलग्रहबाट आएको त हैन । समाजले दिएको लैंगिक भूमिकाले पनि कहिलेकाहिं असर गरेको हुन सक्छ । त्यहि कारण पनि केहि समस्या हुन सक्छ । समाजको चरित्र कहिलेकाहिँ रिफ्लेक्ट हुन सक्छ । तर आजभोली ती विषयमा धेरै परिवर्तन आएको छ । यति धेरै तालिमहरु गराईएका छन, त्यसले सकारात्मक परिवर्तन ल्याएको छ । हामीले सबै गुनासा सुनुवाई गरेका छौं । म सिन्धुलीमा बस्दा त्यस्ता खालका गुनासा आएका छैनन ।
लैंगिक हिंसा न्युनिकरण गर्न कसले के भूमिका निर्वाह गर्नुपर्छ ?
लैंगिक हिंसा न्युनिकरणमा सबैको आ–आफ्नै भूमिका छ । महिलाको भूमिका छुट्टै छ, पुरुषको भूमिका छुट्टै छ । जस्तो आमाले छोरा छोरी हुर्काउँछिन भने एक अर्कालाई सम्मान गर्न सिकाउनुप¥यो । जवसम्म विपरित लिंगलाई सम्मान गर्न सिकाईदैन परिवर्तन सम्भव छैन । हिंसा भनेको द्वन्द्व त हो नी । द्वन्द्व भनेको हात हालाहाल, कुटाकुट मात्र हैन । वैचारिक, सैद्धान्तिक द्वन्द्व पनि हो । जबसम्म मेरो गोरुको वाह्रै टक्का भन्ने सोंच रहन्छ नि मान्छेमा । गलत र सहि चाहिँ हुकाईदेखि नै सिकाउनु आवश्यक छ । गाली गलौज उखानटुक्का र व्यवहारमा परिवर्तन आउन आवश्यक छ । चेतना हराउँदा घट्ने घटना हुन सक्छ तर संस्कारका कारण हुने घटनामा कमी आउन सक्छ । जहाँ एक अर्कालाई सम्मान गर्ने संस्कार हुन्छ लैंगिक हिंसा न्युनिकरण हुन्छ । जसमा व्यक्ति, समाज र सबै सरोकारावालाको भूमिका महत्वपूर्ण हुन्छ ।




















