सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १ चौराईमा टाटीले बारेको, माटोले टालेको सानो घर छ । घरको ढोका छैन । जताबाट पनि सामान्य हान्दा भत्किने खालको उक्त घरको भित्र पकाउने खाने एक सेट भाँडा छन । एउटा सानो खाट छ । मैला लुगा, तिन चार वटा बोरा छन । बाँकी केहि छैन । त्यसैसँग जोडिएको दुईकोठे इटाको घर छ । जुन भुकम्पपछि बनाइएको हो । त्यसको न छानो छ न ढोका नै । छिमेकी, आफन्तको सहयोगमा बनेको घर भए पनि छानो छाउने ढोका हाल्ने केहि काम भएको छैन । न त टाटीको घरमा नै ढोका छ । उक्त भवन सम्पन्न हुने र झ्याल ढोका हाल्न न पैसा छ न कुनै कमाई गरिदिने परिवारका सदस्य नै ।
गत वर्ष श्रीमानले इच्छा विपरित बलात्कार गरेको र यौनीमा फलामको ढुंग्री पसाएर यौन यातना दिएको आरोपमा श्रीमतिले जिल्ला प्रहरी कार्यालयमा बैवाहिक बलात्कारको मुद्दा दर्ता गरिन । श्रीमतिले उपचार पनि पाईन । श्रीमान जेल (कारागार) गए । त्यो घटनापछि परिवार भने लथालिंग भयो ।
मजदुरी गरेर बसेको त्यो परिवारमा अविभावकत्व लिने कोहि भएन । ४ छोराछोरीका बाबुआमा थिए श्रीमान श्रीमति । बाबुले मदिराको सुरमा आमालाई यातना दिए, जसको परिणाम छोराछोरीले दुःख पाईरहेका छन ।
उनीहरुको जेठो छोरा करिब १६, १७ वर्षका छन । उनी चियावारीमा होटलमा काम गर्छन । १३ वर्षकी छोरी सुजना त्यहि सानो झुपडि टाटीको घरमा बस्छिन । उनकी आमा पनि उमेरले ४१ वर्ष भईन । मदिरा सेवन गरेर दिन विताउँछिन, साना नानीहरुको वास्ता गर्दिनन उनी । बालबालिकाको पढाई होस वा खानेकुराको जोहो गर्ने तर्फ उनले ध्यान दिदिनन । घटनापछि उनले बालबालिकाको कुनै वास्ता नगरेको स्थानीय वसन्त घिसिङले बताए । पहिले पनि परिवारको वेवास्ताका कारण बालबालिकाहरु अरुकै घरमा बस्थे, गरिवी, अभाव थियो । दुई छोराहरु ११ र ७ वर्षका छन । उनीहरु नजिकैको विष्णु बाजे भनिने छिमेकीको घरमा बस्छन । त्यहिँबाट स्कुल जान्छन । उनैको घरमा खान्छन, बस्छन । छोरी त्यहि टाटीको खुला घरमा बस्छिन । मदिरा खाएर आमा आएपछि उनीहरुलाई कुटपिट गाली गलौज गर्छिन आमाले । सुजना भन्छिन, ‘ममीले रक्सि खानुहुन्छ, गाली गर्नु हुन्छ, कहिले काहिं पिट्नु पनि हुन्छ ।’

कहिलेकाहिँ साँझमा समयमा घरमा पनि नै आउदिनन् उनीहरुकी आमा । अरुको घरमा पराल बोक्ने, मजदुरी गर्ने काम गर्छिन तर कमाएको पैसा रक्सिमै सकिन्छ । बालबालिका कहिलेकाहिँ भोकै पर्छन । कहिले छिमेकीले खान दिन्छन । घरको सबै काम सुजनाले गर्छिन । स्कुल जान्छिन । तर साँझमा घरमा सुत्ने बेलामा भने डर लाग्छ उनलाई । ढोका खुलै हुदा डर लाग्ने बताउँदै उनले भनिन, ‘डर लाग्छ म त कुनामा सुत्छु ।’
बुवा के कारणले जेल परे थाहा छैन ती बालबालिकालाई । अझ साना २ छोरालाई त बुवा कहाँ छन ? भन्ने समेत थाहा छैन । सुजनालाई भने वुवा जेलमा छन भन्नेसम्म थाहा छ । किन बुवा जेलमा परेका हुन ? त्यसको बारेमा भने उनी पनि वेखबर नै छिन । सुजना पनि पहिले विष्णु बाजेको मै भाँडा माझ्थिन । काम गर्न नसकेपछि उनी अहिले घरमै बस्छिन । पढाई खर्च विद्यालयले नै व्यवस्था गर्छ । कहिलेकाहिं सहयोगी हात पनि आउँछन ।
स्थानीय चण्डेश्वरी माविमा सुजना कक्षा ६ मा पढ्छिन । भाई सुमन कक्षा ३ मा पढ्छ भने सानो भाई शुशिल कक्षा २ मा पढ्छन । विद्यालयले स्कुल ड्रेस, कपि, कलम र पुस्तकको व्यवस्था गरिदिएको छ । छात्रवृतिका लागि सिफारिस गर्ने काम गरेको छ । पहिले खाजाको व्यवस्था गर्दा ती बालबालिकालाई राहत भएको थियो । विहान खाना खान नपाउदा पनि खाजाले केहि राहत दिएको थियो । अहिले त्यो पनि छैन । लकडाउनका बेला ७, ८ महिना विद्यालय बन्द भयो । अहिले खाजाको व्यवस्था पनि छैन ।
मुख्य त उनीहरुलाई बस्न, खान र संरक्षणको अभाव छ । सुरक्षित आवास छैन । उपचार गर्ने पैसा छैन । विद्यालयका सहायक प्रधानाध्यापक दिपशरण बुढाथोकी भन्छन, ‘भोको पेटमा के पढ्नु ?’ उनका अनुसार सानो छोरा र छोरीको पढाई राम्रै छ । काठमान्डौमा गएको माइलो छोरा भने भर्खर त्यो स्कुलमा आएको छ । बोली चाली बानी व्यवहार सभ्य छैन । स्कुलले मात्र सिकाएर नहुने र अविभावक नपाएकाले विद्यालयलाई पनि सम्झाउनै समस्या हुन्छ कहिलेकाहिं । आपिरोनले कोभिडका बेला ३, ४ बोरामा चामल दियो, दशैंमा लुगा दियो । स्कुलका सामग्री लगाएतका अत्यावश्यक सामग्री सहयोग गरिरहेको छ । त्यसले पनि पर्याप्त छैन ।
स्थानीय वसन्त घिसिङ भन्छन, ‘उनीहरुलाई खान, बस्न, पढाई सबैको व्यवस्था गर्न आवश्यक छ ।’ उनले स्थानीयको सहयोगले मात्र उनीहरुका समस्या समाधान नहुने बताए ।
ढोका नभएको घर छ हरेक दिन महिला तथा बालिका यौन दुव्र्यहार बलात्कारमा परिरहेका छन । उनीहरुलाई सुरक्षित गर्न आवश्यक छ ।
























