सिन्धुली । स्वतन्त्र युवाका नाममा नेपाली कांग्रेस निकटका जिल्ला नेताहरुले नै सरकार विरुद्धको आन्दोलनको नेतृत्व गरेका छन । नेपाली कांग्रेस सिन्धुलीका सचिवद्वय दिपक घिमिरे, कृष्ण दाहाल, महासमिति सदस्यहरु माणिक ढकाल, प्रेमचन्द्र दाहाल, पूर्व पदाधिकारीहरु चिरञ्जीवि ढकाल, दिनेश अधिकारी, उपेन्द्र पोखरेल लगाएतले सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका हुन ।

स्वतन्त्र युवाको आन्दोलन भनि नेपाली कांग्रेका नेताहरुले ‘इनअफ इज इनअफ’ को नाममा उक्त प्रदर्शन गरेका थिए । आन्दोलनमा सहभागि सबै नेपाली कांग्रेसका जिल्ला नेता तथा भातृ संगठनहरुका नेता तथा कार्यकर्ताहरु रहेका थिए तर पार्टीको झण्डा भने प्रयोग गरेका थिएनन । सबैले विभिन्न माग सहितका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले सरकारले कोरोना संक्रमणमा गरेको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, शत प्रतिशत नेपालीको पिसिआर विधिबाट कोरोना संक्रमण परिक्षण गर्नुपर्ने, आरडिटी परिक्षणलाई बन्द गरिनु पर्ने लगाएतका माग राखेर प्रदर्शन गरेका थिए ।
पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारको कार्यशैलीप्रति पनि उनीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्न समेत माग गरेका थिए । तथापी आन्दोलन अगाडि नै सरकारले कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च सार्वजनिक गरिसकेको थियो ।




















