सिन्धुली । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । यो सँगै नेपालको नयाँ नक्सा सहितको निशान छापले संवैधानिक मान्यता पाएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूमिले नेपालको संविधानबाट संवैधानिक मान्यता पाएको छ ।
यद्यपि यो विधेयक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाउने छन । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।
सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरि सकेको थियो । लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै भारतले कैलास मानसरोवर जाने बाटो निर्माण गरेर उद्घाटन गरेपछि नेपाल सरकारले भारतसँग गम्भीर असहमति जनाउँदै त्यो क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेको थियो ।
गएको नोभेम्बरमा भारतले लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नयाँ प्रशासनिक नक्सा जारी गर्दा पनि नेपालले विरोध जनाएको थियो ।
सीमा विवादको बारेमा नेपालले वार्ताको लागि पटक–पटक भारतसँग आग्रह गरे पनि भारत वार्तामा बस्न मानेको छैन ।




















