
सरकारी संयन्त्रको रिपोर्टिङका आधारमा सिन्धुलीलाई उच्च जोखिम नदेखे पनि सिन्धुलीको पछिल्लो अवस्था त्यस्तो हैन । विशेष गरि तराई र पहाडी जिल्ला गरि १० वटा जिल्लासँग सिमाना जोडिएको यो जिल्लाको खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, अण्डा, निर्माण सामग्री, लत्ता कपडा लगाएतका सबै सामानको आयात हुने स्थान भनेको नेपालका तराई जिल्लाहरु र भारत हो ।
भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै गएको र भारतसँग सिमा जोडिएका रोटी बेटीको सम्बन्ध भएका जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र हालसम्म कोरोनाको केन्द्र विन्दुका रुपमा लिईएको उदयपुरसँग अत्यन्त नजिकको व्यवसायीक, पारिवारीक सम्वन्ध रहेकाले पनि यो जिल्लामा जोखिम छ । कोरोनाको संक्रमण देखिएको अर्को जिल्ला चितवनको पनि व्यापारिक थलो पनि हो सिन्धुली । जसका कारण दैनिक जसो ती जिल्लाबाट निर्वाध रुपमा मानिस र सवारी साधनहरु जिल्ला भित्रि रहेका छन ।
ती सवारी साधनको र तराईबाट आउने सामग्रीको स्यानिटाईजको अवस्था कमजोर छ । त्यो हेर्ने निकाय को हो ? त्यसको टुंगो छैन । सिन्धुली खाद्यान्नमा आत्मनिर्भर मानिन्छ त्यसको उचित व्यवस्थापनमा यहाँका स्थानीय सरकारले ध्यान दिएका छैनन । यहाँका ५ वटा गाउँपालिकामा अब खाद्य संकट आउन सक्ने अवस्था छ । अन्य स्थानीय तहले पनि आफ्ना स्थानीय तहमा कति खाद्यान्न छ र कति समय धान्न सकिन्छ भन्ने लेखाजोखा गर्न तर्फ नलागि राहत वितरणमा केन्द्रीत रहेका देखिन्छन । जसका कारण सिन्धुलीले रोग र भोकको सामना गर्न पर्ने अवस्था आउन सक्छ ? स्वास्थ्यको अधिकार र खाद्य अधिकार नागरिकका नैसर्गिक र मौलिक अधिकार हुन । ती अधिकारको सुनिश्चितताका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान जान आवश्यक छ । संविधानमै उल्लेख भएका मौलिक अधिकारलाई पुरा गर्ने राज्यको दायित्व हो । यो कुरालाई सबै तहका सरकारले ध्यान दिन समेत आवश्यक छ ।
जिल्लामा स्थानीय तहहरुको होडबाजीमा हजारौं नागरिक भित्राइएको छ । कामका लागि विभिन्न जिल्लाबाट नागरिक भित्रि रहका छन । तीनवटा ठूला राजमार्ग विपी राजमार्ग मर्मत, मदन भण्डारी राजमार्ग निर्माण र मध्यपहाडी (पुष्पलाल) राजमार्गको निर्माणका काम खुलेका छन । सबै स्थानीय तहले निर्माणका कामलाई निरन्तरता दिएका छन । ती निर्माणका काममा बाहिरबाट आएका मजदुरको स्वास्थ्य परिक्षण भएका छैनन । उनीहरुको स्वास्थ्य परिक्षणका लागि कुनै संयन्त्रले काम गर्र्न ध्यान पनि दिएका छैनन । त्यति मात्र हैन हालसम्म कुन स्थानीय तहमा को को ? कहाँ कहाँबाट भित्रिए ? त्यसको रेकर्ड पनि छैन । न उनीहरुको स्वास्थ्य परिक्षण प्रभावकारी छ न त क्वारेन्टाईनमा नै राखिएको छ । जसका कारण यसले भोलीको जोखिमको बारेमा आँकलन र पूर्व तयारी गर्न समेत गाह्रो पारेको छ ।
यस्तै यहाँको स्वास्थ्य तयारीको अवस्था पनि नाजुक छ । सिन्धुलीको एक मात्र व्यवस्थित सरकारी अस्पताल सिन्धुली अस्पतालमै स्वास्थ्य सुरक्षाका साथै कोरोना परिक्षणको लागि आरडिटि किट्ससम्मको अभाव छ । १४ वटा आइसोलेसन वेड छन तर आइसियु हालसम्म छैन ।
अन्य आइसोलेसन भएका अस्पतालहरु त्यति पनि सुविधा सम्पन्न छैनन । वेड भएर मात्र विरामीको उपचार हुदैन । स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, सुरक्षा र प्रोत्साहन सबै आवश्यक छ । स्वास्थ्यमा तयारी नभईरहँदा कोरोना संक्रमण सिन्धुलीमा छ वा छैन भन्ने जानकारी समेत पाउन सकिएको छैन । ज्वरो नापेर मात्र कोभिड १९ पत्ता लाग्ने अवस्था पनि हैन । स्थानीय सरकारका धेरै जिम्मेवारी त होलान र छन पनि तर अहिलेको विषम अवस्थामा पहिलो प्राथमिकता कोभिड १९ रोकथाम नै हो । जसका लागि विकास बजेट कटौती गर्दै स्वास्थ्यमा बजेट खर्च गर्नुपर्ने आवश्यकता छ ।
सिन्धुलीमा करिब २ हप्ता रोकिएका तराईका खाद्यान्न तरकारीहरु आयातमा उद्योग वाणिज्य संघको दवावका बाबजुद खुला गरिएको छ । लकडाउनलाई खुकुलो बनाउँदै लगिएको छ । अस्पताल, निर्माण क्षेत्र, बजार क्षेत्र कतै पनि दुरी कायम गर्ने तर्फ कसैले ध्यान दिएको छैन । स्थानीय तहहरु पुस्तक वितरण, स्कुल सञ्चालनको तयारीमा काम थालेका छन । सहकारी, बैंकहरु खुलेका छन । यसले फेरी कोरोना संक्रमणलाई त वढावा दिईएको छैन ? भन्ने प्रश्न समेत उब्जेका छन । जसले सिन्धुली संक्रमणको उच्च जोखिममा पर्दै गएको आँकलन गर्न कुनै अप्ठ्यारो मान्नु पर्ने अवस्था छैन ।
नेपालको सन्दर्भमा हालसम्म देखिएका कोरोना संक्रमित मध्ये अधिकांशलाई कुनै पनि लक्षण देखिएको छैन । केहिलाई लक्षण देखिए पनि उनीहरुको अवस्था सामान्य छ । कोरोनाले तेस्रो चरण सुरु गर्न थालिसकेको छ । विश्वका धेरै मुलुकमा सुरुमा नेपालकै गतिमा कोरोना संक्रमण भएको तर पछि महामारीको रुप लिएको अवस्थामा नेपालमा पनि त्यसै हुने सम्भावना छ ।
सिन्धुली जस्ता राजमार्गहरुले चिरिएको र ट्रान्जिस्ट प्वाइन्ट रहेका जिल्लाहरु झनै जोखिममा रहेका हुन्छन र त्यो जोखिमममा सिन्धुली छ । किनकी पूर्व पश्चिम र तराई हिमालको मध्य विन्दुमा छ सिन्धुली । सिन्धुलीको अवस्था पहिचान गर्न नागरिक समाजको दवाव आवश्यक छ । राजनीतिक दल, व्यवसायी, स्थानीय प्रशासन, स्थानीय सरकार सबैको सतर्कता र अगुवाई आवश्यक छ । यहाँको स्वास्थ्य अवस्थालाई सुधार गर्दै पूर्व तयारीमा राख्न आवश्यक छ । सिन्धुलीका सबै नाका शिल गर्न स्थानीय प्रशासन लाग्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा रोग र भोकलाई मात्र प्राथमिकता राख्न आवश्यक छ ।





















