सिन्धुली । सिन्धुली अस्पतालमा कोरोना भाइरस (कोभिड १९०) जाँचका लागि आरडिटी किट्सको अभाव भएका कारण स्वास्थ्य जाँचमा समस्या पर्दै आएको छ । जिल्लालाई सरकारले एल्लो जोनमा राखिरहँदा यहाँ भने सामान्य स्वास्थ्य जाँचका लागि किट्सको अभाव रहदा उचित परिक्षण समेत गर्न समस्या हुन थालेको छ ।

मदन भण्डारी राजमार्गमा सडक निर्माण गर्न आएका उनीहरुको आरडिटी परिक्षण भने गर्न नसकिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालमा आरडिटी परिक्षणका लागि किट्स नभएपछि सामान्य परिक्षण मात्र गरिएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा.प्रसन्न राजभण्डारीले बताएका छन ।
डा.राजभण्डारीका अनुसार उनीहरु सडक निर्माण क्याम्पमा बस्ने भएकाले अन्य व्यक्तिहरुका सम्पर्कमा नगई क्याम्पमै बस्न सुझाव दिएर पठाइएको हो । सिन्धुली अस्पतालमा अहिले ३ वटा आरडिटी किट्स मात्र रहेकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न अस्पतालले नसकेको उनले बताए । हालसम्म अस्पतालले २१९ जनालाई होम क्वारेन्टाईनमा पठाएको जनाएको छ ।
तीनजनाको आरडिटी परिक्षण
अस्पतालले सोमबार ३ जनाको आरडिटी परिक्षण गरिएको जनाएको छ । फागुन ३० गते साउदीबाट नेपाल आएका घ्याङलेख गाउँपालिका २ का २८ वर्षिय पुरुष र हिरासतबाट कारागार पठाईएका २ जना बन्दीको आरडिटी परिक्षण गरिएको कोभिड १९ फोकल पर्सन डा. राजभण्डारीले बताए ।
पिपिईको कमी
अस्पतालमा कोभिड १९ को उपचारका लागि स्वास्थ्य कर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको कमी देखिएको छ । विभिन्न दाता तथा सरकारी निकायबाट प्राप्त पिपिई जम्मा १२० थान बाँकी रहेको अस्पतालले जनाएको छ ।
कोभिड १९ उपचारका लागि सिन्धुली अस्पताललाई प्रदेश सरकारले विकास गर्न खोजिरहदा यो अस्पतालमा स्वास्थ्य सुरक्षाको सामग्री नै अभाव देखिएको हो । सिन्धुलीलाई सरकारले जोखिम युक्त जिल्ला अर्थात एल्लो जोनमा राखिरहदा यहाँ परिक्षण समेत प्रभावकारी बन्न सकेको छैन । सिन्धुलीमा पिसिआर जाँचको कमी छ । हालसम्म ८ जनाको मात्र पिसिआर विधिबाट स्वाव परिक्षण गरिएको छ ।
आपतकालिन अवस्थाको तयारी समेत प्रभावकारी बन्न सकेको छैन । सिन्धुली अस्पतालमा ३ वेडको आइसियु र १४ वेडको आइसोलेसन वार्ड भए पनि त्यसले मात्र प्रयाप्त नहुन सक्ने भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरिरहेको छ । तराईका धेरै जिल्ला र उदयपुरसँग जोडिएको सिन्धुलीमा उच्च जोखिम रहेकाले स्वास्थ्य परिक्षणमा ध्यान दिन नागरिक समाजले विभिन्न सञ्चार माध्यमबाट स्थानीय प्रशासन, राजनीतिक दल, स्थानीय तह, स्वास्थ्य संस्थाहरुलाई ध्यान दिन समेत नागरिक समाजले सुझाव दिदै आएका छन । यस्तै तराईका सबै नाका बन्द गर्न र लकडाउनलाई प्रभावकारी बनाउन समेत सुझाव दिन थालेका छन ।




















