
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, सिन्धुली जिल्ला अध्यक्ष तथा वाग्मति प्र्रदेशसभा सदस्य समेत रहेका लेखनाथ दाहाल (राजन) र सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल हस्पिटलमा हुदा समेत पैदल यात्रामा रहेका मजदुरहरुको उद्धारमा लागि परेका छन ।
शनिबार साँझ मजदुरको उद्धारका क्रममा विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा नालामा लडेर राजन दाहालको हात भाँच्चिएपछि उनी धुलिखेल अस्पतालमा उपचाररत छन भने दिपा बोहोरा श्रीमान राजनको उपचारका लागि उनीसँगै अस्पतालमा छिन ।
आइतबार अस्पतालमा रहेका दाहाल दम्पत्तिले १ सय जना पैदल यात्रुको उद्धार गरेको जनाएका छन । स्थानीय प्रहरी, व्यवसायीहरु, स्थानीय युवा क्लब र गाउँपालिकाका जनप्रतिनिधिहरुसँग फोनमै सम्पर्क गरि सिन्धुलीको तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका र तराईका जिल्ला जाने १ सय बढी मजदुरको उद्धार गरिएको गाउँपालिका अध्यक्ष दिपा बोहोराले बताईन ।
‘हस्पिटलमै बसेर पनि फोनमै सवारी साधन खोजी उनीहरुको उद्धार गरेका छौं’, उनले भनेकी छिन । गाउँपालिकाले मजदुरहरुको उद्धारका लागि सधै तत्पर रहेको उनले बताईन । सुनकोशी गाउँपालिकाले लकडाउनका कारण समस्यामा परि राजधानी लगाएतका जिल्लाबाट पैदल यात्रा गरिरहेका मजदुरहरुलाई खाजा, खाना, पानी र सवारी साधनको व्यवस्था गरि उद्धार गरिरहेको छ ।
लडेर घाइते राजन दाहालको हातको हड्डि फुटेको र कुहिनोबाट खुस्केकाले भोली धुलिखेल अस्पतालमा अप्रेशन हुने भएको छ । अप्रेशनको तयारी गरिरहदा समेत उनीहरु पैदल यात्रीको सहयोगी बनिरहेका छन ।




















