सिन्धुली । सिन्धुलीगढी विजय उत्सव तीन दिनसम्म मनाईने भएको छ । कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा मनाईने उक्त विजय दिवसको व्यवस्थापन तयारीका लागि नगरपालिकाले चरणवद्ध छलफल चलाईरहेको छ । सिन्धुलीगढी विजय दिवस सिन्धुली मात्र नभई देशकै गौरव गर्न लायक ठाउँ भएको भन्दै तीन दिनसम्म विजय दिवस मनाउने निर्णय भएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । उनले कार्तिक २४ गते मनाईदै आएको दिवस यसपाली कार्तिक २२, २३ र २४ गते मनाउने गरि तयारी थालिएको बताए । विजय दिवसको तयारी तिव्र पारिएको छ । विजय दिवसको झण्डोत्तोलन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ ।

विजय दिवसका अवसरमा २२ गतेदेखि सिन्धुली र सिन्धुलीगढीको पहिचान झल्कने स्टलहरु तथा सिन्धुलीगढीको इतिहास बुझाउने शैक्षिक सामग्री राखिने छ । विजय दिवसका अवसरमा कमलामाई नगरपालिकाले कार्तिक २० देखि २४ गतेसम्मका लागि प्रवेश निशुल्क गरेको पनि खत्रीले जानकारी दिएका छन ।
वि.सं. २०६७ सालदेखि नेपाल पत्रकार महासंघले यो दिवस मनाउन थालेको थियो । तत्कालिन सात राजनीतिक दलहरु, जिल्ला विकास समिति सिन्धुली, नेपाल पत्रकार महासंघ, प्रमुख जिल्ला अधिकारी लगाएतका सरोकारवालाको बैठकले कार्तिक २४ लाई विजय दिवसको मिति तय गरेपछि विजय दिवस मनाउन थालिएको थियो ।
स्थानीय सरकार आएपछि कमलामाई नगरपालिकाको क्षेत्रमा परेको सिन्धुलीगढीमा विजय दिवस मनाउने जिम्मा पनि स्थानीय सरकारले लिएको थियो । विजय दिवसमा हरेक वर्ष झण्डोत्तोलनका साथै नेपाली सेनाले सलामी दिने प्रचलन छ ।
विजय दिवसमा सार्वजनिक विदा
सिन्धुलीगढी विजय दिवसमा कमलामाई नगरपालिका सिन्धुलीले सार्वजनिक विदाको घोषणा गरेको छ । नगरपालिकाले नेपालकै गौरव गर्न लायक सिन्धुलीगढी विजय दिवस कार्तिक २४ लाई बैधानिकता दिदै सार्वजनिक विदाको घोषणा गरेको हो । उक्त दिन सिन्धुलीगढी विजय दिवसमा सहभागि हुन विदा दिईएको मेयर खत्रीले बताएका छन । सिन्धुलीगढीको इतिहास र गौरवमा सबैले सहभागि हुन पाउनुपर्ने भन्दै नगरले विदा दिएको खत्रीले बताए ।
यस्तै कार्तिक २४ मा गोलञ्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाले पनि सार्वजनिक विदा दिने विषयमा छलफल चलाएका छन । २ वटा गाउँपालिकाले उक्त विदा दिने गरि निर्णय गर्ने गरि छलफल अघि बढेको मेयर खत्रीले बताए । उनले जिल्ला समन्वय समितिसँगको सहकार्यमा जिल्लाभर सार्वजनिक विदा दिन पहल समेत गरिने बताए ।
विजय दिवसको मिति नफेरिने
कमलामाई नगरपालिकाले जिल्लाका सरोकारवाला संस्थाहरु, नेपाल पत्रकार महासंघ, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु लगाएतसँग सोमबार छलफल गरेको छ । केहि संस्थाका कारण विजय दिवसमा आएको मितिको विवाद छलफलको विषय बनेको थियो ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले कार्तिक २४ गते मनाईदै आएको सिन्धुलीगढी विजय दिवसको मिति हेरफेर गर्न नगरपालिकाले नसक्ने बताएका छन । सरोकारवालाको वृहत सुझाव पछि उनले बैठकमै त्यस्तो बताए । उनले स्थानीय तह नबन्दै सर्वदलिय सर्वपक्षिय निर्णयपछि विजय दिवस मनाईएको र यो नेपालकै मिति बनिसकेकाले यसलाई परिवर्तन गर्न नगरपालिकाले नसक्ने बताए ।
विजय दिवसमा विवाद
सिन्धुलीगढी विजयको मितिमा विवाद निस्किएको छ । समृद्ध सिन्धुली नामक संस्थाले विजय दिवसमा असोज १५ गते भएको दावी सहित विवाद झिकेपछि मत बाझिएको छ । तर विजयको मिति भने हालसम्म एकीन छैन । विभिन्न इतिहासकार, नेपाली सेना लगायतको परामर्शमा कमलामाई नगरपालिकाले स्तम्भमा असोज १५ गते लेखेको छ तर कसैले पनि कुन दिन सिन्धुलीगढी विजय भएको थियो एकीन मिति दिन सकेका छैनन ।
इतिहासको यो मिति खोज्न निकै प्रयास भएका छन । नेपाल रहनुको इतिहासको उत्सव मनाउनुपर्ने त्यो मिति कहिले थियो खोजीकै विषय छ । मिति नै फेला नपरेपछि इतिहासकार सागर कुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ मा नै वि.सं. १८२४ आश्विन महिनामा युद्ध भएको र त्यो युद्ध ३ दिन चलेको उल्लेख गरेका छन । उनले मितिमा हालसम्म आँकलन मात्र भएको तर एकीन नभएको उल्लेख गरेका छन ।
नेपालीले सिन्धुलीगढीको महत्व र भावना नबुझी, पुर्खाको इतिहास थाहा नपाई नेपालको माया नै नहुने हुन्छ । केहि बर्षअघि इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको टेकबहादुर कामीको संग्रह र किनलकको डायरीको तथ्यलाई आधार मान्ने हो भने असोज २४ वा कार्तिकको पहिलो हप्ताबीचको समय अंग्रेजलाई हराएको मिति मान्न सकिन्छ । यहि मितिलाई आधार मानेर नेपाल पत्रकार महासंघ सिन्धुलीले गौरवमय दिन कार्तिक २४ लाई तोकेर विजय उत्सव मनाउन सुरु ग¥यो । सबै नेपाली र जिल्लाले पनि वेवास्ता गरेको गढीको महिमा पनि नेपाल पत्रकार महासंघले कार्तिक २४ मा विजय दिवस मनाउन थालेपछि सुरु भएको हो ।
जसका कारण वि.सं. २०६८ देखि तत्कालिन जिल्ला विकास समिति र नेपाली सेनाले महासंघसँग सहकार्य थालनी ग¥यो । देश संघियतामा गएर स्थानीय तह निर्माणसँगै कमलामाई नगरपालिकामा परेको सिन्धुलीगढीमा जनप्रतिनिधि आएपछि विजय दिवसलाई निरन्तरता दिन कमलामाई नगरपालिकाले नै थालेको छ । पत्रकार महासंघले हरेक वर्ष विजय दिवसलाई महत्वका साथ सफल पार्न हातेमालो गरिरहेको छ ।




















