
सिन्धुली । सिन्धुलीका ८ स्थानीय तहले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, विजुली, भौतिक पूर्वाधार, नदी नियन्त्रण लगाएतका योजनाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन । तीनपाटन गाउँपालिका बाहेक सबै नगर तथा गाउँपालिकाले मंगलबार बजेट सार्वजनिक गरे ।
कमलामाई नगरपालिका सिन्धुलीले जनमुखी प्रशासन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन गुणस्तरीय भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य लगाएत सामाजिक क्षेत्रको विकास तथा कृषिमा आधुनीकिकरण लगाएतका विषयलाई बजेटमा प्राथमिकता दिएको छ । नगरपालिकाले २०७६÷०७७ को लागि एक अर्व ६ करोड ८२ लाख ९० हजार बराबरको बजेट ल्याएको छ । चालु खर्च तर्फ ६३ करोड ३६ लाख ८० हजार र पूँजीगत तर्फ ४३ करोड ४६ लाख १० हजार रुपैंया बराबरको बजेट नगरपालिकाका प्रमुख खड्ग वहादुर खत्रील्े सार्वजनिक प्रस्तुत गरेका थिए ।
यस्तै दुधौली नगरपालिका सिन्धुलीले एक अर्व १ करोड ५६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सामूहिक चक्लाबन्दी कृषि कार्यक्रम, कमला नदी नियन्त्रण तथा बहुउद्देश्यीय करिडोर, धार्मिक पर्यटन विकास लगाएतलाई प्राथमिकता दिएको नगरपालिकाका प्रवक्ता रितेश राउतले बताए ।
यस्तै सुनकोशी गाउँपालिकाले ३७ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दिपा दाहालका अनुसार किसान परिचय पत्र र अनुदान, लिफ्ट सिंचाई, खानेपानीको व्यवस्थापन, युवा किशोरी, बालविवाह र बालश्रम मुक्त गाउँपालिकाका लागि बजेट विनियोजन गरेको छ ।
फिक्कल गाउँपालिकाले ३३ करोड १३ लाख ४ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाउँपालिकाले पूर्वाधार विकासमा ६ करोड ३० लाख, स्वास्थ्यमा ८४ लाख १० हजार, कृषि र पर्यटनमा ८४ लाख १० हजार, शिक्षामा १ करोड २६ लाख, महिला बालबालिकाका क्षेत्रमा ४२ लाख, युवा तथा खेलकुदमा २१ लाख, न्यायीक सेवामा २१ लाख, वन तथा वातावरणमा ५१ लाख, उर्जामा २१ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै गोलञ्जोर गाउँपालिकाले १९ करोड २२ लाख १८ हजार बजेट विनियोजन गरेको छ । ४ वटा गौरवका आयोजना, शिक्षा, हरित गोलञ्जोर लगाएतका कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार गोलञ्जोरले आगामी आर्थिक वर्षलाई कर वर्षका रुपमा अगाडि बढाउने नीति लिएको छ । जुनारमा कर उठाउनका लागि पनि विशेष पहल हुने उनले बताए ।
यसैगरि हरिहरपुरगढी गाउँपालिकाले ३६ करोड १५ लाख ३४ हजार बजेट विनियोजन ग¥यो । यो गाउँपालिकाले कृषि पशुपालन र विद्युतीकरणलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले वताए ।
यस्तै मरिण गाउँपालिकाले ३९ करोड ७९ लाख बजेट विनियोजन गरेको छ । गौरवका आयोजना सहित शिक्षा, स्वास्थ्य, वन वातावरण पूर्वाधार विकास, पर्यटन विकास, सामाजिक विकास तथा समावेशीकरण, कृषि, पशुपालनलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यस्तै सुशासन र सेवा प्रवाहमा पनि बजेट विनियोजन गरेको छ ।
यस्तै घ्याङलेख गाउँपालिकाले ११ करोड ८३ लाख ३२ हजार बजेट विनियोजन गरेको छ । बाटो विजुली खानेपानी कृषि पर्यटन शिक्षा लगाएतलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष दुर्गा सुनुवारले बताईन ।
तिनपाटन गाउँपालिकाको बजेट आएन
सिन्धुलीको तिनपाटन गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । कर्मचारी अभावका कारण तयारी पुरा नभएकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताए ।
जेठको पहिलो हप्तादेखि नै लेखा शाखा कर्मचारी विहिन भएको र अन्य कर्मचारी समेत कमी भएकाले समयमा सबै स्थानीय तहसँगै बजेट ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बजेट र नीति कार्यक्रम बनाउँदै गरेकाले २० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याइने उनले बताए ।
उनका अनुसार सबै गाउँसभाका सदस्यहरुको अनुकुल समय मिलाएर मिति तय गरिने छ । सरकारले स्थानीय तहका लागि असार १० गतेभित्र नीति तथा कार्यक्रम र त्यसको १५ दिनभित्र बजेट ल्याउने प्रावधान राखेको हुदा त्यो समयभित्र बजेट आउने उनले जनाए ।





















