सिन्धुली । कमलामाई नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्नै गाह्रो भएको छ । कमलामाई नगरपालिकाको वडा नं. ६ मा १७० जनाले फारम भरेकोमा फोन गरेर रोजगार दिन्छौं भन्दा पनि कामदार पाईएको छैन ।
फर्म भरेका मध्ये सबैलाई फोन गर्दा ढुंगा, माटो र सिमेन्टमा काम गर्ने कामदार पाउनै नसकिएको रोजगार संयोजक अजय श्रेष्ठले बताए । उनका अनुसार कनपा ६ मा १७ जना कामदार आवश्यक परेकोमा सोहि अनुसार कामदार पाउन नसक्दा ७ जनाले मात्र काम गरेका छन ।
कमलामाई नगरपालिकाको वडा कार्यालयले उक्त कार्यक्रमका लागि ३ वटा योजना छनौट गरेको थियो । २ नं बजारमा गणेश मन्दिरको पुननिर्माण, शान्तिनगर चोकमा सार्वजनिक धारा निर्माण र सिद्धस्थली बोर्डिङमा इनारको निर्माण । कामदार नपाएपछि २ वटा योजना सञ्चालन हुन सकेका छैनन भने ७ जना कामदारले गणेश मन्दिरको पुनः निर्माण गरेका छन ।

नगरपालिकाले अदक्ष कामदारका लागि ८ सय र दक्ष कामदारका लागि ११ सय रुपैंया ज्याला तोकेको छ । श्रेष्ठका अनुसार कमलामाई नगरपालिका भित्र फारम भर्नेहरु ‘स्मार्ट बेरोजगार’ भएकाले विकास निर्माणको काममा आउन मान्दैनन ।
फारम भरेकाहरुलाई फोन गर्दा कुनै न कुनै पेशा व्यवसायमा आवद्ध भएको पाइएको वडा अध्यक्ष उज्जल थापाले बताए । उनले वडाका तीन वटा साना योजना पनि सम्पन्न गर्न गाह्रो भएको बताए । थापाले भने, ‘जागिरको आश गरेर फर्म भरेकालाई निर्माणमा ल्याउन सकिएको छैन ।’
कमलामाई नगरपालिकाका रोजगार संयोजक श्रेष्ठका अनुसार अरु वडामा पनि रोजगारीमा लगाउन समस्या भईरहेको छ । फर्म भर्ने बेलाको बुझाई र अहिले काम पाउँदाको अवस्था फरक परेको छ । सरकारले अफिस, कार्यालयमा रोजगारी दिने आश गरेकाहरु अहिले काममा आउनै मानेका छैनन ।
‘कमलामाई नगरपालिका भित्र असार मसान्तसम्मका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७६ लाख बजेट विनियोजन भएको छ । रकम खर्च गर्नै गाह्रो भएको छ’, श्रेष्ठले भने ।





















