सिन्धुली/नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीले शनिबार शैलशिखर अनाथालयका बालबालिकालाई सहयोग गरेको छ । महासंघका जिल्ला अध्यक्ष राजन कार्कीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्मा तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि अनाथालय बालबालिकालाई खाद्यान्न तथा खेलकुदका सामान सहयोग गरेको हो ।
कमलामाई नगरपालिका वडा नं. ४ को ढुंग्रेवासमा रहेको अनाथालयमा पुगेर महासंघले उक्त सामग्री हस्तान्तरण गरेको हो । प्रमुख अतिथि तिवारी, पत्रकार महासंघका संस्थापक अध्यक्ष शेषराज दाहाल र वर्तमान अध्यक्ष कार्कीले संयुक्त रुपमा अनाथालयका अध्यक्ष एवम् सञ्चालक विष्णुप्रसाद देवकोटालाई सामग्री हस्तान्तरण गरेका छन ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले महासंघले अनाथ बालबालिकालाई सहयोग गरेर अत्यन्त सह्रानिय काम गरेको बताए । उनले महासंघले सामाजिक कामका साथै मानवीय पुण्यको काम गरेको बताउँदै महासंघलाई धन्यावाद समेत दिए ।
कार्यक्रममा बोल्दै महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालले महासंघको इतिहास पत्रकारिता क्षेत्रमा क्रियाशिलले विर्सन थालेको बताए । उनले इतिहासलाई इतिहासको रुपमा जीवित राख्न आग्रह समेत गरे । उनले महासंघको जिल्ला शाखा स्थापनालाई पनि दिवसका रुपमा मनाउन सुरु गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष टिकाजंग थापाले कार्यक्रममा स्वागत गरेका थिए भने कार्यक्रममा जिल्ला शाखाका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । उक्त अनाथालयमा १० जना बालबालिकाहरु रहेका छन । उनीहरुलाई भगवति आवासीय माविले निशुल्क पठनपाठनको व्यवस्था गरेको छ ।






















