सिन्धुली/कमलामाई नगरपालिकाले नगरपालिकाको २२ औं स्थापना दिवस विहिबार सिन्धुलीमाढीमा मनाएको छ । नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अध्यक्षता तथा प्रदेश नं. ३ का प्रदेशसभा सदस्य विनोद खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विषयगत क्षेत्रका अनुदान सहयोग देखि खेलकुदका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण समेत गरि दिवस मनाईएको छ ।
स्थापना दिवसको कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खड्काले स्थानीय सरकारले विकासका काम गर्दा प्रदेश तथा संघिय सरकारसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका छन । उनले नगरपालिकाको विकासका लागि विभिन्न निकायसँगको सहकार्यमा काम गर्न उचित समन्वयको आवश्यकता रहेको औंल्याएका छन । उनले पूर्वाधार विकास, महिला बालबालिका लगाएत लक्षित वर्गको विकाससँगै रोजगारीको सृजनामा नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले स्थानीय सरकारको वेवास्ताका कारण जिल्लाको शान्ति सुरक्षा, शुसासन लगाएतका विषयमा समन्वय हुन नसकेका कारण समस्या भएको बताउँदै यस तर्फ ध्यान दिन आग्रह गरेकी छिन । उनले स्थानीय सरकारले विकासका सूचकहरुलाई ध्यान दिएर काम गरेमा नगरपालिका समृद्ध बन्ने बताउँदै मानव विकासका सूचकांक बढाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने औंल्याईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले कमलामाई नगरपालिकाकाले सञ्चार नीति बनाएर सञ्चार संस्थाहरु र संञ्चारमाध्यमहरुसँग सहकार्य गर्न आग्रह गरिन । उनले महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई नीतिगत रुपमा समेटी योजना तथा कार्यक्रम गर्नका लागि नगरपालिका चुकेको बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरिन । कार्यक्रममा नेकपाका नेता सूर्य पाख्रिन, नेपाली कांग्रेसका नेता माणिक ढकाल, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदार, नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम अधिकारीले कार्यक्रममा स्वागत गरेका थिए ।
यस्तै सोहि कार्यक्रममा नगरपालिकाले नगर क्षेत्रका ६३ जना महिला स्वयम्सेविकालाई २५ सय रुपैंयाका दरले सञ्चारखर्च उपलब्ध गराएको छ । त्यस्तै उक्त अवसरमा ३० वटा सुत्केरी गाई भैंसीलाई सुत्केरी भत्ता उपलब्ध गराईएको छ । कार्यक्रममा नगर क्षेत्रका विद्यालयको कार्य सम्पादन मुल्यांकनबाट उत्कृष्ट भएका पाँच विद्यालयलाई अनुदान र शैक्षिक सामग्री व्यवस्थापनका लागि ३ वटा विद्यालयलाई नगरपालिकाले ५०÷५० हजार रुपैंया बराबरको चेक उपलब्ध गराएको छ । कार्यक्रमको अवसरमा ८० प्रतिशत अनुदानमा प्लाष्टिक पोखरी निर्माण गर्न किसानहरुलाई प्लाष्टिक वितरण गरिएको छ भने ४ जना किसानलाई हातेट्याक्टर सहयोग समेत गरिएको छ । अनुदान, सहयोग, पुरस्कार तथा सञ्चारखर्चहरु कार्यक्रमका प्रमुख अतिथि खड्का र कार्यक्रमका अध्यक्ष देवकोटाले हस्तान्तरण गरेका थिए ।
खेलकुदका विजेतालाई पुरस्कार
कमलामाई नगरपालिकाको स्थापना दिवसका अवसरमा भएका ३ खेलका विजेतालाई उक्त कार्यक्रममा पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकाको आयोजनामा भएको खुला डबल कोर्ट व्याडमिण्टन प्रतियोगिता, महिला जनप्रतिनिधि र कर्मचारीबीच भएको म्युजिकल चियर र बुधबार सम्पन्न जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका विजेता टिमलाई नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । व्याडमिण्टनमा विनोद खकुराल र इश्वर दर्लामीले पहिलो स्थान प्राप्त गरेका थिए भने लोकविक्रम थापा, कृष्णविक्रम थापाले दोस्रो स्थान ल्याएका थिए । त्यस्तै उक्त प्रतियोगितामा छत्र बहादुर घिसिङ, बैकुण्ठ कुमार कार्की, विनोद नेवा खड्गी र आस्तिक बराल तेस्रो भएका थिए ।
त्यस्तै म्युजिकल चियरमा सर्मिला तामाङ प्रथम, योगेन्द्र कुमारी राय द्धितिय र सम्झना रोकाया तृतिय भएका थिए । यस्तै बुधबार सम्पन्न जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको थियो । उक्त पुरस्कारको वितरण पनि कार्यक्रमका प्रमुख अतिथि खड्का र कार्यक्रमका अध्यक्ष देवकोटाले गरेका थिए ।






















