सिन्धुली, सिन्धुलीको क्यानेश्वरकी सुस्त मनस्थिति भएकी एक १६ वर्षिय बालिकालाई दिल्लीमा दश हजार भारतीय रुपैंया जागिर लगाईदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाई फुलाई सर्लाहीको नयाँरोडमा लगि होटलमा बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका १० धरहरा बस्ने ४५ वर्षिय ज्ञान बहादुर थिङ र हरिवन १० नयाँरोडमा रहेको विशालवावा होटलका सञ्चालक ३७ वर्षिय नारायणराज उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख डिएसपी विनोद शर्माले बताए । प्रहरीका अनुसार घटनामा संलग्न सर्लाहीको हरिवन नगरपालिका १० का ३५ वर्षिय कुमार लामा र उनकी श्रीमति ३७ वर्षिय माया लोप्चन फरार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका पीडकहरु दुवै जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पीडित परीवारले बैशाख २९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित जानकारी दिएको र बैशाख ३० गते रितपूर्वक जाहेरी दर्ता गराएका छन ।
पीडित बालिकाका बुवाका अनुसार ‘छोरीलाई हरिवन १० धरहरा घर भएकी ३७ वर्षिय माया लोप्चन र उसको श्रीमान कुमार लोप्चनले गाउँमै आई ललाई फकाई भारतमा जागिर लगाईदिन्छु भनि अपहरण गरि लगेको र हरिवन १० मा लगि ज्ञान बहादुर थिङको जिम्मा लगाएका थिए ।’
ज्ञान बहादुरले विशालबाबा होटलमा लगि बैशाख १७ देखि २५ गतेसम्म सामुहिक रुपमा दिनहुँ बलात्कार गरेको र अन्य मानिसहरुलाई समेत वलात्कार गर्न लगाएको प्रहरीले जनाएको छ । सामुहिक बलात्कारपछि पीडितको शारिरीक अवस्था कमजोर पाएपछि पीडकले होटलबाट निकालिदिएको र सडकमा अलपत्र अवस्थामा स्थानीय अर्थमान वाईवाले फेला पारी प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । नेपाली भाषा समेत बोल्न नजान्ने बालीका सुस्त मनस्थिती भएको र आफ्नो घर ठेगाना समेत बताउन नसक्ने पिडितकी आमाले बताईन ।
प्रहरीले नै पीडितका बाबु बन्धक बनाएको गुनासो
बालिका बन्धक बनाई बलात्कार गरेको उजुरी दिन सर्लाहीको हरिवन स्थित इलाका प्रहरी कार्यालयमा पुगेका पीडितका बुवालाई त्यहाँका प्रहरी अधिकृत इन्स्पेक्टर राम थापाले नै दुई घण्टा बन्धक बनाएको पीडित पक्षको आरोप छ ।
बैशाख २५ गते रातीको समयमा बालिकालाई सडकमा घोप्टो परेर बसेको भेटेका अर्थमान वाईवाले इलाका प्रहरी कार्यालय हरिवनलाई जिम्मा लगाएका थिए । उनलाई प्रहरीको जिम्मा लगाएको थाहा पाएका पीडक कुमार मोक्तानले प्रहरी कार्यालयमा गई बालिकाको आफन्त भनि जिम्मा लिएर ट्याक्टर चढाएर घर पठाएका थिए । यता छोरी बेच्न लगेर बलात्कार गरि सडकमा छोडेको र प्रहरीको जिम्मामा लगाईएको थाहा पाई उजुरी दिन गएका पीडितका बुबालाई त्यहाँका प्रहरी अधिकृत रामकाजी थापाले कार्यालयमै बन्धक बनाई छोरीको बारेमा उजुरी नगर्न र क्यानेश्वर प्रहरी चौकीले पक्राउ गरेका पीडक मायाँ लोप्चनलाई छोड्न दवाव दिए ।
प्रहरी चौकी क्यानेश्वरले २६ गते मायाँलाई पक्राउ गरी अनुसन्धानमा राखेको थियो । छोरीको भनाई अनुसार उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिऔन पुगेका हरिहरपुरगढी गाउँपालिका ८ का वडाध्यक्ष सार्कीमान बम्जन, पीडितका बुुबा र क्यानेश्वर प्रहरी चौकीका असइ र हवल्दार सहितलाई दवाव दिएपछि प्रहरी चौकी क्यानेश्वरले मायालाई छोडेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका इन्पेक्टर थापाले कसैलाई पनि छोरीको विषयमा उजुरी नगर्ने सर्तमा कागज गराई बन्धक मुक्त बनाएको पीडितका बुवाले बताए । ‘सिन्धुलीको प्रहरीले सहयोग ग¥यो, अव त न्याय पाइन्छ की ?’ पीडकका बुवाले भने । सिन्धुलीका डिएसपी शर्माले अपहरण तथा शरिर बन्धक र जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको बताएका छन ।
























