सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ५ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकहरु पुरा गरेपछि वडालाई बुधबार बालमैत्री वडा घोषणा गरिएको हो ।
निर्देशिकाका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पूरा गरेकाले जिल्लाका ७९ वडामध्येमा फिक्कल गाउँपालिका वडा नं. ५ जिल्लाको तेस्रो बालमैत्री वडा घोषणा गरिएको हो ।
यसअघि तीनपाटन गाउँपालिकाको वडा नं ५ र १० लाई बालमैत्री वडा घोषणा गरिएको थियो । बालबालिका बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताईन ।
वडाले बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिका सम्बन्धी ९ वटा सुचक पूरा गरेकाले बालमैत्री वडा घोषणा भएको उनले बताईन । बालमैत्री वडा घोषणा कार्यक्रममा वडाका विद्यालयहरुका बालबालिकाले कार्यक्रममा उल्लेख्य सहभागिता जनाए ।
बालमैत्री घोषणा कार्यक्रममा पञ्चेबाजा सहितको ¥याली निकालिएको थियो । जिल्ला समन्वय समिति र गाउँपालिकाबाट सूचांक सहित सिफारिस भएपछि तेस्रो बालमैत्री वडा औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको वडाध्यक्ष बैकुण्ठलाल पहाडीले बताए ।
कार्यक्रममा बालविवाह विरुद्ध चेतनामूलक नृत्य तथा गजल प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बालबालिकालाई सुनौं र बाल सरोकारका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरौं भन्दै प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।





















