सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले नेपालमा संघियता लहडमा ल्याईएको बताएका छन । अन्य देशमा टुक्रिएको देशलाई एकठाउँमा ल्याउनका लागि संघियताको अवधारणा ल्याईएको बताउँदै नेपाललाई संघियताका नाममा टुक्राउने काम भएको घिमिरेले बताए ।
नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे घिमिरेले संघियताका जटिलता र फाईदाका बारेमा बहसै नगरि संघियता ल्याएकाले समस्या सृजना भएको दावी गरे ।
घिमिरेले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेकाले खारेज हुनुपर्नेमा समेत जोड दिए । उनले संघियताले देशलाई आर्थिक भार मात्र बढेको बताए । प्रदेश सरकारहरू राजनीतिक निर्णय गर्न समेत केन्द्रको आदेश पर्खने, बजेटका लागि केन्द्र ताक्ने अवस्थामा रहेको र आफै राजस्व संकलन र परिचालनमा समेत कमजोर बन्दै गएको भन्दै उनले प्रदेश सरकारले देशमा आर्थिक भार मात्र थोपरेको बताए ।
उनले नेपालका १४ संवैधानिक आयोग खारेज गर्नुपर्नेमा समेत जोड दिए । आयोगका नाममा देशको आर्थिक भार बढ्दै गएको बताउँदै सबै आयोग खारेज हुनुपर्नेमा जोड दिए ।
घिमिरेले नेपालको राजनीतिक अस्थिरताको कारण समानुपातिक निर्वाचन प्रणाली समेत रहेको बताए । उनले समानुपातिक निर्वाचन प्रणाली र ८ सय सांसदको औचित्य नभएको भन्दै राजनीतिक हिसाबले यसको छलफल आवश्यक रहेको बताए । उनले समानुपातिक निर्वाचन प्रणालीले सरकारको स्थिरतामा समस्या सृजना भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले स्थानीय तहको संख्या समेत घटाउनुपर्नेमा जोड दिए । उनले देशमा सामाजिक सुरक्षा भत्ता र अनुदानका नाममा पैसा बाँड्ने कामले देशको विकास नहुने र आर्थिक भार बढ्ने बताए ।





















