सिन्धुली । संयुक्त बजार अनुगमनका क्रममा रामेछापका दुई वटा व्यवसायीलाई कारवाहि गरिएको छ । मंगलबार रामेछाप नगरपालिका १ का होटल, उद्योग तथा खाद्य पसलहरुमा अनुगमन गर्दा दुई वटा व्यवसाय सञ्चालक कारवाहिमा परेका हुन ।
कानुन बमोजिम कैफियत देखिएका तामाकोशी फुड प्रोडक्ट र सोलमारी भोजनालय एण्ड लजलाई दश दश हजार जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले विज्ञप्ती जारी गरि जनाएको छ ।
तामाकोशी फुड प्रोडक्टलाई सरसफाई नभएको, खाद्य अनुज्ञापत्र नभएकोमा कारवाहि गरिएको र सोलमारी भोजनालय एण्ड लजलाई सरसफाई नभएको, खानेकुरामा झिंगा भन्केको, यत्रतत्र फोहोर खानेकुरा छरिएको र अघिल्लो अनुगमनमा सुधार गर्न दिइएको सुझाव नमानेकोमा कारवाहि गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताए ।
यस्तै अनुगमनका क्रममा उप्रेती स्टोर्सको विक्री तथा गोदाममा कालिञ्चोक ब्राण्डको लेवल विनाको प्रशोधित पिउने पानी भेटिएको पनि अनुगमन टोलीले जनाएको छ ।
उक्त पानी ७ दिनभित्र फिर्ता गरि प्रमाण सहित उद्योग तथा वाणिज्य कार्यालयमा पेश गर्न उक्त स्टोर्सलाई निर्देशन दिईएको छ ।
यस्तै अनुगमनका क्रममा दर्ताका बखत निर्धारण गरिएको उद्देश्य अनुरुप उत्पादन तथा विक्री वितरणका काम गर्न व्यवसायीहरुलार्इृ निर्देशन समेत दिईएको छ ।
यस्तै उद्योग व्यवसायमा सरसफाई राख्न समेत निर्देशन गरिएको छ । अनुगमन टोलीले ८ वटा विन्दुमा केन्द्रीत रहि अनुगमन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा वाणिज्य कार्यालय रामेछाप, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र उद्योग वाणिज्य संघ रामेछापका प्रतिनिधिहरुको सहभागितामा अनुगमन गरिएको थियो ।























