
म महिनावारी भएको २१ वर्ष भयो । मैले अहिलेसम्म ऋषि पञ्चमी व्रत, पञ्चमी नुहाउने र पूजा गर्ने पनि गरेको छैन । पहिलो त म आमाहरुले नुहाउने गरेको पञ्चमीको विधि विधान हेरेरै यतातिर ध्यान लगाईन । जब मलाई सामान्यत महिलाहरुले प्रजननका लागि परिपक्क बन्नुको संकेत भनेकै महिनावारी हो भन्ने थाहा पाएँ त्यसपछि झन यसतर्फ कहिले पनि सोचिन ।
महिनावारीलाई छाउ बार्ने वा छोइछिटो गर्ने चलन अत्यधिक छ । हिन्दु धर्म मान्नेहरु त झन यसलाई निकै पापका रुपमा लिन्छन । केटा मान्छेहरुसँग छोइन नहुने, पर बस्नुपर्ने, मिठो खान राम्रो लाउन नहुने, फोहरी भएर बस्नुपर्ने अझ कतिपय ठाउँमा त छाउगोठमा गएर बस्नुपर्ने, पोषिलो खानेकुरा खान नहुने लगाएतका अन्धविश्वासहरु व्याप्त छन । एकातिर स्वास्थ्यको दृष्टिबाट महिनावारीका बेला सरसफाई गर्नुपर्ने, आराम गर्नुपर्ने, पोषिलो खानेकुरा खानुपर्ने हुन्छ भने धार्मिक विश्वास यसको ठिक उल्टो छ ।
यहि उल्टो प्रक्रियालाई धार्मिक विश्वासका नाममा अंगिकार गर्दै जानु र पढेलेखेकाले समेत यसलाई विश्वासका रुपमा लिएका छन । जसको परिणाम स्वरुप अहिले पनि पञ्चमी पूजाले व्यापक महत्व पाईरहेको छ ।
हरितालिका तीजको पर्सिपल्ट पर्ने यो पञ्चमी पुजा रजदोष हटाउनका लागि गरिन्छ । प्रजनन क्षमताको विकास भएको खुशीयाली मनाउनुपर्नेमा महिलाहरु धार्मिक विश्वासलाई आत्मसाथ गर्दै महिनावारीलाई पापको रुपमा यो दिन पखाल्न खोज्दैछौं । एक वर्षमा १३ पटक महिलाहरु महिनावारी हुन्छन । तीनदिन बार्नुपर्ने परम्पराले पनि ३९ दिन यो प्रक्रिया रहला । त्यहि ३९ दिनको पाप पखाल्न महिलाहरुले ३ सय ६५ पटक माटो लगाई, उति नै पटक धोइपखाली गर्ने, ३ सय ६५ दतिवन चपाउने, त्यति नै संख्यामा बत्ति सल्काउले लगाएतका काम गरेर आफैलाई अपवित्र घोषणा गरिरहेका छन ।
सप्तऋषिको पुजा गरेर महिनावारी भएका बेला दुई दिनका दिन कुकुर्नी हुन्छे, तीन दिनका दिन धोविनी हुन्छे जस्ता कथा सुनेर आफ्नो अस्तित्व आफैले अस्वीकार गरिरहेका छन । आज पनि पढेलेखेका जमात नै महिनावारीको छोइछिटो बारिरहेका छन । यसको अर्थ हामी महिलाहरु कुसंस्कृति र आफैलाई अपमान गर्ने दिनलाई पर्वका रुपमा मनाईरहेका छौं ।
महिनावारीका बेला कोहि कसैलाई जान अन्जानमा छोएको पाप कटाउने नाममा पूजा गर्ने गरेका छौं । हामीले यो बुझ्न जरुरी छ की महिनावारी नभए हाम्रा पुरुष महोदय कसरी जन्मिए ? हामी कसरी जन्मियौं ? यदि महिला महिनावारी हुदैन थिई भने वा प्रजनन क्षमता राख्दिन थिइ भने बाँझी आरोपमा हिंसा खेप्नुपथ्र्यो खोइ त्यो हामीले सम्झेको । कतिपय दिदी बहिनीले आज पनि प्रजनन क्षमता नहुदा हिंसा खेपेका छन । बहुविवाह, अपमान, घरनिकाला जस्ता समस्याले रुदै हिजेका छन । अनि हामी महिनावारी भए अछुत भइने ? जताबाट पनि महिलालाई लाञ्छित गर्ने प्रचलन हाम्रो पुस्ताले छोड्न सक्नुपर्छ ।
मुलुकी फौजदारी संहिताले महिनावारीका बेला छुवाछुत गर्न नपाउने व्यवस्था गरेको छ । संहिताले महिनावारी तथा सुत्केरीका बेला भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नेलाई ३ महिना कैद सजाय तोकेको छ । अझ सरकारी जागिरमा रहनेका लागि त दोब्बर सजाय समेत तोकेको छ । यस्तै नेपाल सरकारले यो वर्षदेखि पञ्चमीको दिन दिने सार्वजनिक विदाको कटौती गरेको छ । यसले महिलाको स्वाभिमान रक्षाको आन्दोलनमा एक इटा थपेको छ ।
महिनावारीका बारेमा गाउँगाउँमा सचेतना फैलाउने काम अभियन्ताहरुबाट भएको छ तै पनि कठोर प्रचलनलाई अवको पुस्ताले त्याग्न सकेको छैन । पञ्चमीको दिन विदा कटौती भएकोमा केहि सरकारी कर्मचारी, शिक्षक महिलाहरुले विरोध गरेका स्वर पनि सुनिन्छन ।
हामीले महिनाबारी हुनु एउटा प्राकृतिक प्रकिया हो र यो कुनै पाप होइन । यो त बरु महिलाको निम्ति एकदमै खुशीको कुरा हो । भनेर बुझाउन निकै कठिन परिरहेको छ । जब यो पाप नै हैन भने पाप पखाल्न भन्दै ऋषि पञ्चमीको पूजा किन गर्नु ? भन्ने विषयमा जबसम्म बुझाउन सकिदैन कानुन बने पनि रजदोष कटाउने व्रत कायमै रहन्छ ।
मेरो मान्यता आस्था र श्रद्धा एक ठाउँमा छ, तर हुदै नभएको पापलाई पखाल्ने नाममा पूजा गर्नु पर्ने कुरामा म सहमत छैन अतः सृष्टिको अपमान गर्दै मलाई रजदोष कटाउनु छैन र पञ्चमी पूजा गर्नु छैन । मेरा छोरीहरुलाई पनि कहिल्लै यो बाटोमा हिड्न दिने छैन ।



















