सिन्धुली । सिन्धुलीमाढीको खुलामञ्चमा पुस २७ गतेदेखि माघ ७ गतेसम्म फुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा स्थानीय परिकार तथा उत्पादनको प्रचारप्रसारको लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
सिन्धुली पर्यटन, कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फूड फेस्टिभल २०८० नाम दिईएको उक्त फेस्टिवल ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्ने भएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकासँगको समन्वयमा फुड फेस्टिभल गरिने आयोजकले जनाएको छ । ‘कृषि, व्यापार, उद्योग र पर्यटनको कसी : साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ भन्ने मूल नाराका साथ फेस्टिभलको आयोजना गरिएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टलेका प्रबन्ध निर्देशक अस्विन थापा मगरले बताएका छन ।
दशदिनसम्म चल्ने फेस्टिभलमा स्थानीय कला सँस्कृतिको जगेर्ना, मौलिक बाजा गाजा, स्थानीय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा बिक्री वितरण र नेपाली खानाको परिकारहरुको स्टलहरु रहने आयोजकले जनाएको छ ।
‘दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न सामग्री तथा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पलहरुको बिक्री वितरणका लागि २ सय स्टलहरु राखिने थापाले बताए ।
कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुडाका सामग्रीहरु तथा पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ । स्थानीय तथा विविध प्रकारका खानाका प्रकारहरुलाई विशेष आकर्षणका रुपमा राखिने थापाले बताए ।
फेस्टिभलमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्वस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हास्यव्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने उनले बताए ।
फेस्टिभलमा सिन्धुली जिल्लाभर उत्पादित कृषिजन्य उत्पादनको बिक्री वितरण तथा प्रदर्शनका लागि स्टल निःशुल्क गराईने उनले बताए । हस्तकला तथा घरेलु उद्योगको उत्पादनलाई ५० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।
सरकारी स्वास्थ्य संस्थालाई सेवाको लागि निःशुल्क स्टल व्यवस्था गरिने छ । नीजि स्वास्थ संस्थाको हकमा प्रचार प्रसारको लागि शुल्क लाग्ने छ । सिन्धुली उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीको हकमा प्रति स्टल ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । जसको लागि आवद्धताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुने आयोजकले जनाएको छ ।






















