सिन्धुली । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाईन्स) ले ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार रक्षा गर्न र मानवअधिकारसँग सम्बन्धित राष्ट्रिय पाँचौ कार्ययोजना कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण बुझाएको छ ।
कार्ययोजनाको अभिप्रायः सरकारका सबै अंगहरु, संवैधानिक संयन्त्रहरु, सरकारले बनाउने योजना तथा गर्ने लगानी तथा नागरिक संगठनहरु समेतको साझा प्रयत्नले मानवअधिकारको अवस्था सुदृढ हुन सक्दछ भन्ने रहेको ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
कार्ययोजना कार्यान्ववयनको जिम्मेवारी जिल्ला तहमा जिल्ला समन्वय समिति र स्थानीय तहमा स्थानीय तहको रहेको भए पनि कार्यान्वयनमा समस्या भएको समेत उल्लेख गरिएको छ ।
एलाइन्सले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति तथा जिल्लाका सबै स्थानीय तहमा ध्यानाकर्षण बुझाएको छ । नेपालले हस्ताक्षर गरेका मानवअधिकार सम्बन्धी ठूला महासन्धीहरु, विभिन्न प्रोटोकलहरु र संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न एलाइन्सले ध्यानाकर्षण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली, कमलामाई नगरपालिका र जिल्ला समन्वय समिति सिन्धुलीमा एलाइन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षणपत्र बुझाएको छ भने मरिण गाउँपालिकामा मरिण इन्चार्ज बासु मैनाली, गोलञ्जोर गाउँपालिकामा एलाइन्सका प्रतिनिधि लक्ष्मी श्रेष्ठ र फिक्कलमा मानवअधिकार एलाईन्सका इन्चार्ज नवराज पहाडीले ध्यानाकर्षण बुझाएका छन ।





















