सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुली जिल्लाबाट निर्वाचिन जनप्रतिनिधि महिलाहरुलाई सम्मान गरेको छ । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार उनीहरुलाई सम्मान गरेको हो । समितिका उपप्रमुख शान्ता कार्कीको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य शुशिला थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा प्रतिनिधिसभा सदस्य शुशिला थिङ, रणकुमारी बलम्पाकी मगर, प्रदेशसभा सदस्य सुकुमाया तामाङ, सुस्पा भुजेल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, दुधौली नगरपालिका ३ का वडाअध्यक्ष भद्रा माझी रहेका छन ।
जनप्रतिनिधि महिलाहरुलाई समन्वय समितिका प्रमुख कार्साङ लामाले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य शुशिला थिङले संसदको ढोका भित्र पसे पनि निर्णायक अधिकार नपाएको गुनासो गरेकी छिन । उनले संसदमा रहेका ३३ प्रतिशत महिला पुरै एकतावद्ध हुदा पनि बहुमत नपुग्ने भएकाले समस्या राख्ने मात्र महिला सांसदको काम भएको बताईन ।
महिलाका सवाल उठाउने ठाउँमा पुगेको भए पनि निर्णय गराउनका लागि जनदवाव आवश्यक रहेको थिङले बताईन ।





















