सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १० मा जेष्ठ नागरिक महिलाहरुलाई सम्मान गरि ८ मार्च मनाईएको छ । ७० वर्ष माथिका ३० जना महिलाहरुलाई रामनामी ओढाई जुस र विस्कुट खुवाई सम्मान गरिएको हो ।
मंगलबार कमलामाई वडा नं. १० को कार्यालयको आयोजनामा भएको औपचारिक कार्यक्रममा वडा भित्रका जेष्ठ महिलाहरुलाई सम्मान गरिएको हो । वडा सदस्य गौतम भट्टराईको अध्यक्षता तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ महिलाहरुलाई प्रमुख अतिथि पाण्डेले महिलाहरुलाई रामनामी ओढाएर सम्मान गरेकी थिईन भने वडा सदस्य भट्टराईले जेष्ठ नागरिक महिलालाई जुस तथा फलफूल वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिमला पाण्डेले महिला आन्दोलनका अगुवा महिलाहरुको सम्मान गर्नुपर्नेमा जोड दिईन । नागरिक आन्दोलनको अगुवाई महिलाहरुले गर्दै आएका छन । नागरिक आन्दोलन, महिला आन्दोलनलाई उचाईमा पु¥याउन सञ्चार क्षेत्रले उल्लेख्य भूमिका खेलेको बताईन ।
महिला आन्दोलनका उपलब्धि रक्षा गर्न, असंगठित क्षेत्रका नागरिकलाई समान ज्यालामा पहुँच स्थापित गर्न सदैव लागिरहने बताएकी छिन । समान ज्याला, सामाजिक सुरक्षाका कामलाई महिलालाई समावेश गर्नका लागि वडा कार्यालयहरुबाटै पहल गर्न आवश्यक रहेको बताईन । उनले स्वास्थ्य स्वयम्सेविका, बाल शिक्षकलाई न्युनतम ज्याला उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बताईन ।
महिलाहरुलाई जागरण गरि लैगिक समानता कायम गर्न र सामाजिक न्याय स्थापना गर्न एकजुट हुन आवश्यक रहेको बताएकी छिन । लैंगिक हिंसाका सवालमा एकतावद्ध लडाईको आवश्यकता रहेको समेत बताईन ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ सिन्धुलीका सचिव पार्वती भट्टराईले राज्यका निकायहरुमा अर्थपूर्ण लैंगिक समानता कायम हुनुपर्नेमा जोड दिईन । उनले सामाजिक न्याय र लैंगिक समानता कायम गरेमा मात्र दिगो विकास हुने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुमा आवद्ध महिलाहरु, नगर, वडाका महिला नेताहरुले महिला दिवसका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए भने सन्देशमूलक गीत कविता समेत प्रस्तुत गरेका थिए ।
यसैबीच कमलामाई नगरपालिका वडा नं. ६ ले पनि जेष्ठ नागरिक महिलालाई सम्मान गरेको छ । वडा भित्रका ९० वर्षदेखि माथिका ६ जना महिलाहरुलाई दुई हजार नगद, एककिलो हर्लिक्स र दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । यस्तै ७० वर्ष माथिका अन्य जेष्ठ नागरिक महिलालाई खादा ओढाएर सम्मान गरिएको थियो ।
























