सिन्धुली । जिल्ला बाल संगठन सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको संगठनको भवनमा १५ वेडको होल्डिङ सेन्टर निर्माण गरेको छ । सोमबार उक्त होल्डिङ सेन्टर निर्माण गरि सञ्चालनमा ल्याईएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहल तथा जिल्ला अस्पताल सिन्धुलीको सहयोगमा नेपाल बाल संगठन सिन्धुलीको दुई तले भवनमा होल्डिङ सेन्टर बनाईएको हो ।
जिल्लामा कोभिड अस्पताल (आइसोलेशन भवन) मा रहेका विरामीका आफन्तहरु (कोभिड अस्पतालभित्र विरामी कुरुवा र विरामीलाई आवश्यक औषधीजन्य तथा अन्य सामाग्री ओसार प्रसार गर्ने) लाई बस्नका लागि होल्डिङ सेन्टर निर्माण गरिएको संगठनका अध्यक्ष लालबहादुर बुढाथोकीले बताए ।
तत्काल उपलब्ध श्रोत र साधनको प्रयोग गरी हाल १५ वेड राखिएको छ । होल्डिङ सेन्टरलाई अपुग रहेका केही सामग्रीहरु थपेर व्यवस्थित बनाउँदै लाने समेत उनले बताए ।





















