विमा लुंगेली
मकवानपुरगढी । वाग्मति प्रदेशका पत्रकारहरुका लागि पाँच दिने मल्टिमिडिया तथा अनलाईन पत्रकारीता तालिम मकवानपुरको ऐतिहासिक स्थल मकवानपुरगढीमा विहिबारदेखि सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजना एवं सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेश हेटौडाको समन्वयमा उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर वि.क.ले गरेका छन । आवासिय रुपमा गरिएको उक्त तालिमको उद्घाटन गर्दै प्रमुख सचिव वि.क.ले पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले समाजमा भएका नकारात्मक समाचारहरुलाई नछोडी सकारात्मक समाचारलाई बढावा दिन अनुरोध गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रेस रजिष्टारको कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले तालिमको उद्देश्य र अपेक्षाबारे प्रष्ट पारेका थिए । मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित होटल गढी भ्यु एण्ड रिसोर्टमा सञ्चालन भइरहेको तालिममा बागमती प्रदेशका ११ जिल्लाका २० जना पत्रकार सहभागी छन् । तालिमको सहजीकरण उमेश श्रेष्ठ र प्रवेश सुवेदीले गरिरहेका छन ।





















