सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु २० देखि ६० वर्ष सम्मका व्यक्ति रहेका छन । २ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले पुष्टि गरेको छ ।
संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन गरि पठाईएकोमा परिक्षण हुदा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार अन्य तीन जना भने क्वारेन्टाईनमा बसेका व्यक्ति रहेको उनले बताए ।
संक्रमित सहित २८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि असोज ६ गते हेटौडामा पठाईएको थियो ।
लकडाउन खुलेपछि जिल्लामा धेरै संक्रमित भेटिएको पहिलो पटक हो । जिल्लामा दैनिक जसो संक्रमित भेटिईरहेका छन । यो सँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निको भई घर फर्किसकेका छन । अन्यको उपचार सिन्धुली अस्पताल तथा एपोलो अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा भईरहेको छ । शाहका अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।





















