सिन्धुली । लैंगिक हिंसा पीडित महिलाहरुका लागि राहत वितरण गरिएको छ । कमलामाई नगरपालिका, सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि), महिला सुरक्षा आवासको समन्वयमा स्टोरीज अफ नेपालको आर्थिक सहयोगमा हिंसा पीडित महिलालाई राहत वितरण गरिएको हो ।
सोमबार कमलामाई नगरपालिकाका ८ जना र दुधौली नगरपालिका २ जना हिंसा पीडित महिलालाई खाद्यान्न राहत वितरण गरिएको हो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले हिंसा पीडित महिलालाई राहत वितरण गरेकी हुन । उक्त राहतमा ५० किलो चामल, ४ किलो चना, ४ किलो दाल, ३ किलो नुन, ३ लिटर तेल रहेको छ । प्रतिव्यक्ति पाँच हजार बराबरको राहत प्याकेज वितरण गरिएको ओसिएमसीका घटना व्यवस्थापक सुनिता शर्माले बताईन ।
यसै गरि मंगलबार पनि हिंसा पीडित ८ जना महिलालाई राहत वितरण गरिने भएको छ । १० हजार र ५ हजारको प्याकेजमा कमलामाई नगरपालिका, दुधौली नगरपालिकाका हिंसा पीडित महिलालाई राहत वितरण गरिने सुरक्षा आवास गृहका गीता देवकोटाले बताईन । उनका अनुसार महिला सुरक्षा आवास र ओसिएमसिमा सेवा लिएका र लकडाउनका कारण आर्थिक संकटमा परेका पीडित महिलाहरुलाई उक्त राहत वितरण गरिएको हो ।





















