सिन्धुली । जिल्लामा तराईका जिल्लाबाट आयात भै रहेको फलफुल, माछा–मासु, हरियो तरकारी आयातमा रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा वसेको सर्वदलिय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लालाई कोरोना भाईरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रण गर्नका लागि तराईका जिल्ला तथा अन्य जिल्लाबाट आयात भै रहेको फलफुल, माछा–मासु, अण्डा, कुखुरा–चल्ला, हरियो तरकारी एक हप्ताका लागि प्रतिबन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जनाएका छन । उनले निर्णय पछि सार्वजनिक सूचना जारी गरि सबै व्यवसायीलार्ई जिल्ला बाहिरबाट हुने आयात रोक्न अनुरोध समेत गरेका छन ।
यस्तै उक्त बैठकले जिल्लाभित्र सञ्चालित दूध, फलफुल, तरकारी तथा खाद्यान्न सामाग्रिका पसलहरु हरेक ३ घण्टा मात्र खोल्न दिने निर्णय गरेको छ । दैनिक विहान ६ बजे देखी ९ बजेसम्म एक पटक मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरिएकाले सोहि अनुसार गर्न प्रशासनले सूचना मार्फत अनुरोध समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त निर्णय २०७७ साल बैशाख २ गते राती १२ बजेदेखी २०७७ साल बैशाख ९ गते राती १२ बजेसम्म लागु हुने जनाएको छ ।
बाहिरी जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि उल्लेखित सामग्रीको ओसार प्रसार नगर्न र जिल्लामा रहेका खाद्यान्न पसलहरु तेकिएको समयमा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सवैमा जानकारी गराएको छ ।






















