सिन्धुली । गोलन्जोर गाउँपालिकाले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिक वर्ग तथा न्यून आय भएका समुदायका दुई हजार २९९ परिवारलाई राहत वितरण गरेको छ ।
गाउँपालिकाले वडा समितिको सिफारिसमा आइतबार तीन प्याकेजको राहत वितरण गरेको हो ।
कोभिड –१९ को महामारी फैलिन नदिनको लागि नेपाल सरकारले गत चैत्र ११ गते देखि गरेको लकडाउनपछि दैनिक ज्याला मजदुरी गरि छाक टार्ने मजदुरलाई उक्त राहत दिईएको गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए । उनले जनताले भोकै बस्न नपरोस भनि उक्त राहत दिइएको बताए ।
परिवार संख्याका आधारमा राहत
गाउँपालिकाले परिवार संख्याका आधारमा राहतलाई तिन प्याकेजमा बाँडेर वितरण सुरु गरेको छ । पाँच जनासम्म परिवार सदस्य भएकालाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र आधा लिटर तेल, पाँचदेखी नौ जनासम्मको परिवारलाई ३० किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलाग्राम नुन र आधा लिटर तेल र दश जनाभन्दा माथी परिवार संख्या भएका परिवारलाई ४५ किलोग्राम चामल, ३ किलोग्राम दाल १ लिटर खानेतेल र ५ किलोग्राम नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाको वडा नं. १ डुँडभन्ज्यामा ५०२ परिवार, वडा न. २ बितीजोरमा ३२२ परिवार, वडा नं. ३ भुवनेश्वरीमा २३५ परिवार, वडा नं. ४ तीनकन्यामा ४०२ परिवार, वडा न. ५ रतनचुरामा २७० परिवार, वडा नं. ६ बाशेश्वरमा ३३५ परिवार र वडा न. ७ खुर्कोटमा २३३ परिवारलाई राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।




















