सिन्धुली । सिन्धुलीको दुधौलीमा राष्ट्रिय स्तरको दनुवार संग्राहालय बन्ने भएको छ । ३ नं. प्रदेश सरकारको सहयोग तथा दुधौली नगरपालिकाको समन्वयमा दुधौलीको वडा नं. ५ सिर्थौलीमा ११ करोड ६९ लाखको लागतमा दनुवार संग्राहलय वन्ने भएको हो ।
जसका लागि दुधौली नगरपालिकाको करिब चार लाख लागतमा कमलामाई इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार पारिसकेको छ । देश सरकार अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयले यसको लागी २५ लाख बजेट चालु आर्थिक वर्षमै छुट्याएको छ । यहि वर्षदेखि नै उक्त संग्रहालय निर्माणको काम सुरु हुने दनुवार जागरण समितिका उपाध्यक्ष रामदेव अधिकारीले बताए ।
संग्राहालय निर्माणका लागि रामदेवले सिर्थौलीमा रहको ५ कठ्ठा जग्गा समेत निशुल्क उपलब्ध गराएका छन । उक्त संग्राहलयमा दनुवार जातीको मौलिक कला, संस्कृती, परम्परा र संस्कारको संरक्षण र संवद्र्धनका सामानहरु राखिने छ । साढे पाँचहजार स्क्वाएर फिट क्षेत्रफलमा उक्त संग्राहालयको भवन बन्ने छ ।
कन्सल्टेन्सीका प्रोपाईटर सविन खतिवडाका अनुसार उक्त संग्राहालयमा २ वटा हलमा मौलिक कला संस्कृति झल्काउने सामानहरु रहनेछन । एउटा पुस्तकालय, उनीहरुको कला संस्कृतिलाई भिडियोमा देखाउन भिडियो थिएटर रहने छ ।
यस्तै अफिस, मिटिङ हल समेत उक्त संग्राहालयमा हुने छ । यस्तै टिकट काउन्टर, पार्किङ स्थल, क्यान्टिन, बगैंचा समेत संग्राहालयको बाहिर रहने गरि डिपीआर तयार भएको खतिवडाले बताए ।




















