प्रिय पाठक, शुभेच्छुक, विज्ञापनदाता, लेखक तथा सहयोगी महानुभावहरू,
साझा नेपाल साप्ताहिकले पन्ध्र वर्षको निरन्तर, संघर्षशील र जिम्मेवार पत्रकारिताको यात्रा पूरा गर्दै आज गौरवका साथ सोह्रौँ प्रकाशन वर्षमा प्रवेश गरेको छ । यस ऐतिहासिक अवसरमा पत्रिकालाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण पाठक, शुभेच्छुक, लेखक, विज्ञापनदाता, समाचार स्रोत तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सिन्धुली जिल्लाबाट प्रकाशन हुँदै आएको साझा नेपाल साप्ताहिक महिला प्रकाशक तथा सम्पादकको नेतृत्वमा सञ्चालित समाचारमूलक पत्रिका हो । प्रेस काउन्सिल नेपालबाट ’क’ वर्गमा वर्गीकृत हुनु हाम्रो लागि केवल उपलब्धि मात्र होइन, जिम्मेवारी पनि हो । सत्य, निष्पक्षता, विश्वसनीयता र जनउत्तरदायी पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धताको मूल्याङ्कनका रूपमा हामी यसलाई लिएका छौं ।
समयसँगै सञ्चारका माध्यम र प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । यही परिवर्तनलाई आत्मसात् गर्दै साझा नेपाल साप्ताहिकले मुद्रित संस्करणसँगै आफ्नो अनलाइन संस्करण www.esajhanepal.com तथा विभिन्न न्यु मिडिया प्लेटफर्म मार्फत पनि पाठकमाझ निरन्तर सूचना, समाचार र विश्लेषण पु¥याउँदै आएको छ । हाम्रो उद्देश्य समाचार मात्र प्रकाशन गर्नु होइन, समाजमा सकारात्मक बहस सिर्जना गर्नु, नागरिकलाई सुसूचित बनाउनु र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउनु पनि हो ।
विगत पन्ध्र वर्षदेखि महिला, बालबालिका, सामाजिक न्याय, मानवअधिकार, सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक उत्तरदायित्व, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण तथा स्थानीय सरोकारका विविध विषयमा साझा नेपालले निरन्तर आवाज उठाउँदै आएको छ । आवाजविहीनको आवाज बन्ने, अन्यायमा परेकाको पक्षमा उभिने र जनचासोका विषयलाई प्राथमिकताका साथ उजागर गर्ने हाम्रो अभियान आगामी दिनमा अझ सशक्त हुनेछ ।
हामी पत्रकारितालाई केवल व्यवसाय होइन, सामाजिक उत्तरदायित्व र लोकतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा लिन्छौँ । त्यसैले तथ्यमा आधारित, सन्तुलित, विश्वसनीय र जनपक्षीय पत्रकारितालाई अझ प्रभावकारी बनाउँदै स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
सोह्रौँ वर्षको यस नयाँ यात्रामा पनि यहाँहरूको अमूल्य सुझाव, रचनात्मक आलोचना, विश्वास र निरन्तर साथको अपेक्षा गरेका छौँ । तपाईंहरूको साथ, विश्वास र सहभागिताले नै साझा नेपाल साप्ताहिकलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय सञ्चार माध्यमका रूपमा स्थापित गर्दै लैजानेछ । सत्य, निष्पक्षता र जनउत्तरदायित्वप्रतिको हाम्रो प्रतिबद्धता अटल रहनेछ ।





















