सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष एवम् सहिद सम्झनाका पिता शेषराज दाहालले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार आफैले अध्ययन गरेको विद्यालय कमलामा माविमा अक्षय कोष स्थापना गरेका छन् । आफ्नी छोरी सहिद सम्झना दाहालको स्मृतिमा उनले अक्षय कोषको स्थापना गरेका हुन् ।
कमला माविमा पढ्दै गर्दा टनकपुर सन्धिको विरुद्धमा चर्केको आन्दोलनमा सरकारको गोली लागि मृत्यु भएकी छोरी सम्झनाको नाममा उनले अक्षय कोष स्थापना गरेका हुन् । सम्झनाको वि.सं. २०४९ फागुन २२ गते सिन्धुलीमाढीको धुराबजारमा गोली लागि मृत्यु भएको थियो ।
सरकारले हालसम्म सम्झनालाई सहिद घोषणा गरेको छैन । दाहालले आफ्नो ७३ औं जन्मोत्सवको अवसर पारेर विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गरेको जनाएका छन् । एक लाखबाट आउने व्याजबाट विद्यालयमा अध्ययनरत विपन्न, जेहेनदार, सिमान्तकृत छात्राहरुलाई छात्रवृति प्रदान गर्ने गरि अक्षयकोष स्थापना गरिएको हो ।
सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका दाहालका अनुसार कोषमा एक लाख रुपैंया निरन्तर रहने गरि कोष स्थापना गरिएको छ । दाहालले यस अघि सहिद सम्झनाका नाममा सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार, एसईईमा उत्कृष्ट छात्राहरुलाई सम्मान तथा पुरस्कार, उत्कृष्ट शिक्षक पुरस्कार, उत्कृष्ट साहित्यीक पुरस्कार समेत स्थापना गरेका छन् ।





















