सिन्धुली/तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चे कोल्वोटेकी ५३ वर्षीय टंकमाया बुढाथोकीको लागु पदार्थको सेवन गरि आफ्नै भतिज र छिमेकीले हत्या गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरि टंकमायाको हत्या कुनै किसिमको व्यक्तिगत विवाद वा रिसइविका कारण नभई लागु औषध प्रयोगकर्ता आफ्नै भजित र आफ्नै छिमेकीले गरेको अनुसन्धानमा खुलेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले टंकमायाको हत्या घाँटी थिचेर गरिएको र म¥यो की मरेन भनि जाँच गर्ने क्रममा मुंग्राले टाउको पछाडीबाट हानेर टाउकोमा चोट पु¥याइएको पाइएको बताए ।
टंकमायाको हत्या पुस ८ गते राती नै भएको समेत अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका भतिज तीनपाटन गााउँपालिका वडा न. ३ का ३० वर्षिय दिपक भन्ने शाान्ती बहादुर बुढाथोकी र छिमेकी २९ वर्षिय चुक्त बहादुर कटुवाल रहेको एसपी सुवेदीले बताए । उनीहरुलाई पुस २२ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई पुस २३ गते सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको एसपी सुवेदीले बताए ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुवै जनाले टंकमायाको हत्या गरेको स्वीकार गरेको समेत उनले बताए । टंकमाया हराएको १४ दिनपछि पुस २१ गते शव फेला परेको थियो । टंकमायाको शव घरबाट करीब एक किलोमिटर उत्तरतर्फ बाँसको झ्याङ्मा बाँसको पात तथा पत्करले छोपेको र लास सडेको अवस्थामा फेला पारेको थियो ।
सुवेदीका अनुसार अपराधमा संलग्न बुढाथोकी र कटुवालले लागुऔषध सेवनको कारणले हत्या गरेको र सोहि आवेगमा बढेको अपराधिक मानसिकताका कारण हत्या भएको देखिएको छ । टंकमायाको हत्या आरोपमा पक्राउ परेका बुढाथोकी २०७३ सालमा चोरी कसुरमा पक्राउ परि सिन्धुली जिल्ला अदालतको फैसला बमोजिम एक वर्ष जेल सजाय भोगेका व्यक्ति समेत भएको खुलेको सुवेदीले बताए ।
टंकमाया हराएको खबर पाएपछि खोजी कार्यका लागि गएको प्रहरी टोलीले टकंमाया बुढाथोकी सुत्ने खाटमा रगत तथा दिसा लत्पतिएको अवस्थामा फेला पारेपछि घटनाले फरक मोड लिएको थियो ।
अनुसन्धानमा प्रविधिको उच्चतम प्रयोग
टंकमायाको हत्याको घटना रहस्यमय बन्दै गएपछि प्रहरीले अनुसन्धानमा उच्चतम प्रविधिको प्रयोग ग¥यो । टंकमाया हराएको सूचना पुस ९ गते राती करीब ९ बजेर २० मिनेटमा इलाका प्रहरी कार्यालयमा सूचना आउँछ । मृतकका ज्वाई भिम बहादुर थापाले इलाका प्रहरी कार्यालय बेलघारीलाई उक्त जानकारी दिएपछि प्रहरीले हुलिया परिपत्र गरि खोजतलासमा जुट्छ ।
अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रारम्भिक अनुसन्धान र घटनास्थलको जाँच गर्ने क्रममा घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले ठूलो शक्ति सहित अनुसन्धानमा खटिन्छ । टकंमाया बुढाथोकी सुत्ने खाटमा रगत तथा दिसा लत्पतिएको अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली, बागमती प्रदेश प्रहरी कार्यालयको ट्राकर डग सहितको टोली अनुसन्धानमा खटिन्छ ।
दुई जना व्यक्तिलाई निगरानीमा राखि बाग्मती प्रदेश प्रहरी कार्यालयबाट विशेषज्ञको टोली सहित खटिएको टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली र इलाका प्रहरी कार्यालय बेलघारीको टोली अनुसन्धानमा निरन्तर खोजीमा लाग्छ । स्थानीयको समेत सहयोग लिएर भएको खोजीमा ड्रोन क्यामेरा समेत प्रयोग गरिन्छ । अनुसन्धानमा यसरी प्रविधिको प्रयोग कमै घटनामा गरिने एसपी सुवेदीले बताए ।
उनका अनुसार शव भेट्न प्रहरीलाई खोजी सुरु गरेको १२ दिन लाग्यो । घटनाको अवस्था हेर्दा हत्यामा संलग्न व्यक्तिले शव लुकाउन निक्कै प्रयत्न गरेको देखिन्छ ।





















