सिन्धुली । आइतबार विहान बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं.२ गागनमा बस र मोटरसाइकल ठोक्किँदा दुधौली नगरपालिका ३ बस्ने २५ वर्षिय महेश कुमँरको मृत्यु भएको छ ।
दुर्घटनामा परि कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने २६ वर्षिय दिपेश कुमँर गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार घाईते भएका दिपेश कुमँरलाई दुधौली नगर अस्पतालमा उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएका छ ।
पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाकाट झुँगातर्फ जाँदै गरेको ज८प८१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
बस चालक उदयपुर कटारी नगरपालिका ३ बस्ने ३२ वर्षिय श्याम कुमार भट्टराई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको डिएसपी सुवेदीले बताए ।




















