सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ आइतबार लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट घोषित भई सम्मानित भएकी छिन् ।
उनी “पुर्ण व्यवसायिक तवरले कार्य सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एवं लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनिय योगदान तथा प्रेरणादायी भूमिका” निर्वाह गर्ने महिला प्रहरीमध्ये उत्कृष्ट तेस्रो भएकी हुन् ।
देशभरीका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये उनी तेस्रो भई सम्मानित भएकी छिन् । उनलाई प्रहरी प्रधान कार्यालयले आईतबार सम्मान गरेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उनी सहित उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका छन् ।
उत्कृष्ट पहिलो रौतहटकी असई रागनीकुमारी यादव भएकी छिन् भने दोस्रो प्रहरी चौकी बालकोट अर्घाखाँचीकी शान्ता खत्री भएकी छिन् । रागनीले ४० हजार नगद र प्रमाणपत्र प्राप्त गरेकी छिन् । शान्ताले ३० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन भने उमाले २० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् ।






















