सिन्धुली । विराटनगरकी योजना देवकोटाले दुई दिन अघि सिन्धुलीबाट काठमान्डौ जानका लागि प्रतिव्यक्ति २ हजार भाडा तिरिन । उनले विद्युतिय गाडीमा २ हजार प्रतिव्यक्ति भाडा तिरेकी हुन । सिन्धुलीदेखि मन्थली, दोलखाको चरिकोट हुँदै काठमान्डौ जाँदा उनले दुई हजार भाडा तिरिन । उनलाई यात्राका लागि गाडीको टिकट समेत दिईएन । उक्त गाडीका अन्य प्यासेन्जरले भाडा बढी भएको गुनासो गरे तर त्यो गुनासो न त इभि चालकले सम्बोधन गरे न त कुनै प्रहरी वा प्रशासनले नै ।
बुधबार नयाँ पत्रिका दैनिकका राजनीतिक ब्युरो प्रमुख पर्शुराम काफ्लेले सिन्धुली हेटौडा हुँदै काठमान्डौ जान प्रतिव्यक्ति २ हजार नै भाडा तिरे । परिवार सहित बसमा काठमान्डौ हिँडेका उनले दुई हजार भाडा तिरेको र काउन्टरले समेत टिकट नदिएको गुनासो गरे । आफु सहितका यात्रुहरु ठगिएको देखेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा अत्यधिक भाडा लिएर यातायात व्यवसायीले ब्रह्मलुट गरेको खुलासा गरे ।
उनले लेखेका छन, ‘सिन्धुलीबाट कान्ति लोकपथ हुँदै काठमान्डौ जाने बसका यात्रुलाई प्रतिव्यक्ति २ हजार रुपैंया भाडा । बसभरी मानिस कोचेर लगेका छन । आज म एउटा बसमा असुरक्षा र लुटको अनुभव सहित काठमान्डौको यात्रामा छु । विपदको समयमा यो अमानवीय कार्य गर्नेहरुलाई कसले कारवाहि गर्ने ?’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई समेत मेन्सन गरेर उनले लेखेको स्टाटसले सिन्धुलीको सुरक्षा र यातायातमा बहस सृजना गरेको छ । उनले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र सिन्धुलीका पत्रकारहरुलाई समेत ट्याग गरेका थिए ।

अत्यधिक भाडा लिएको सार्वजनिक रुपमा खुलासासँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भाडा फिर्ता गर्न एक्सन लियो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मकवानपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग भाडा फिर्ता गराउन समन्वय गरे । काफ्ले चढेको बसले प्रशासनको दवावपछि उनले तिरेको भाडामा प्रतिव्यक्ति पाँच सय फिर्ता ग¥यो तर अन्य यात्रुहरुको भाडा फिर्ता नै गरेन ।
यात्रुहरु ठगिएको विषयले चर्चा पाएपछि सिन्धुलीबाट काठमान्डौ भित्रिएका सवारी साधनहरु सातदोवाटो पुग्न सकेनन । सातदोवाटो प्रहरीले पक्राउ गर्न सक्ने र कारवाहिमा पर्न सक्ने भएपछि गाडीहरु टिकाभैरव–भैंसेपाटी हुँदै एकान्तकुनातर्फ गएर उतैबाट फर्किएका छन ।
यी दुई वटा उदाहरण मात्र हुन । विपी राजमार्गमा रोशीको बाढीले क्षति पुगेर अवरुद्ध भएपछि वैकल्पिक राजमार्ग प्रयोग गरेर काठमान्डौ जाने सम्पूर्ण सवारी साधनले यात्रुहरुबाट चर्को भाडा लिईरहेका छन । बैकल्पिक राजमार्गबाट काठमान्डौ चल्ने सवारी साधनले मनपरि भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रुहरु हाल्ने, मालबाहक सवारी साधनमा यात्रुहरु कोच्ने लगाएतका काम गरिरहेका छन । सिन्धुलीमाढीको वसपार्ककै छेउँमा प्रहरीको यात्रु सहायता कक्ष छ तर नत यात्रुका गुनासा कसैले सम्बोधन गरेको छ न त यातायात व्यवसायीले यात्रालाई सहज नै बनाएका छन । बरु लामो बाटो हिड्नुपर्ने, काठमान्डौंबाट खाली गाडी फर्किनुपर्ने, बाटो अप्ठ्यारो भएको, यातायात व्यवसायी समिति र ट्राफिक प्रहरीलाई कमिसन दिनुपर्ने भन्दै यातायात व्यवसायीले यात्रुहरुबाट अत्यधिक भाडा लिने गरेको यात्रुहरुले बताउँदै आएका छन ।
रोशीको बाढीले विपी राजमार्ग अवरुद्ध भएसँगै सिन्धुली मन्थली चरिकोट हुँदै काठमान्डौ जाने र सिन्धुली हेटौडा हुँदै काठमान्डौ जाने वैकल्पिक राजमार्ग प्रयोग भईरहेको छ । यहि बाहनामा व्यवसायीहरुले काठमान्डौसम्म जाने गाडीमा प्रतिव्यक्ति दुई हजार र सो भन्दा बढी समेत भाडा लिएको खुलासा भएको हो । व्यवसायीहरुले सिन्धुलीका ट्राफिक प्रहरी प्रमुखलाई समेत कमिसन दिनुपर्ने भन्दै यात्रुहरुबाट भाडा असुल गरेको खुलाएका छन ।
अत्यधिक भाडा असुली गरेको र यात्रुहरुलाई यात्रामा असहज गराएको भन्दै दुई दिन अघिको विपद व्यवस्थापन समितिको बैठकमा समेत सार्वजनिक यातायातको भाडाको विषयले प्रवेश पायो । सोमबार प्रशासनमा यातायात व्यवसायीहरुलाई बोलाएर छलफल पनि गरियो तर यातायात व्यवसायीले आफुहरुले चर्को भाडा नलिएको र यात्रा सहज बनाएको दावी गरे । यता यातायातमा यात्रुहरु भने निरन्तर ठगिईरहे ।
यात्रुहरु ठगिएको सवालमा ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख इन्स्पेक्टर मोहम्मद कलिम अञ्जुमले उजुरी र गुनासो आएमा प्रहरीले निगरानी गरि कारवाहि समेत गर्ने दावी गरे । उनले यात्रुहरुले उजुरी नै नदिने गरेको बताए । सिन्धुलीमा ६ वटा स्थानमा नागरिक सहायता कक्ष भएको, फोन नम्बरहरु सार्वजनिक गरिएको र प्रहरी, ट्राफिक प्रहरीका हटलाईनहरु भए पनि यात्रुहरुले फेसबुकमा लेख्ने तर उजुरी नगर्ने गरेको आरोप लगाए । उनले ट्राफिक प्रहरीलाई लगाएको कमिसनको आरोप समेत प्रमाणित गर्नुपर्ने बताए ।
तर आफुहरु ठगिएको भनि उजुरी गर्ने यात्रुहरुको बारेमा यातायात व्यवसायीलाई नै जानकारी दिई यात्रुहरुलाई नै असुरक्षित बनाउने काम समेत अञ्जुमले गरेको यात्रुहरुको गुनासो छ । यात्रुहरुले ठगिएको गुनासो गरेमा व्यवसायीहरुलाई गोपनियता समेत खोलिदिने काम प्रहरीबाटै हुने गरेको यात्रुहरु बताउँछन ।
सिन्धुली काठमान्डौको साना गाडीको साविकको भाडादर आठ सय हो । बसको भाडा साढे पाँच सय छ । ट्राफिक प्रहरी प्रमुख अञ्जुमले भनेका छन, ‘लामो दुरीको बाटो प्रयोग गर्दा १, २ सय बढी लिनु स्वभाविक हो ।’ यातायात व्यवसायीले चलानीमा ८ सयका दरले नै भाडा लेखेको पाईएको उनको भनाई छ । यात्रुहरुलाई टिकट नदिएको विषयमा भने उनले केहि बोल्न चाहेनन् ।
यात्रुहरुबाट अत्यधिक भाडा असुली भएको सूचना बाहिरिएपछि मंगलबार दिनभर ट्राफिक प्रहरी प्रमुख अञ्जुम बसपार्कमा माईकिङ गर्ने, चेकजाँच गर्ने काममा खटिएका थिए तर टिकट नकाटेको विषयमा आफु जानकार नभएको उनले बताए । मंगलबारको चेकजाँचका क्रममा दुई वटा सवारी साधनलाई कारवाहि समेत गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यातायात व्यवसायीहरुले चर्को भाडा असुलेको गुनासो आईरहेको बताए । उनले यात्रुहरुबाट भाडा फिर्ता गराउने र यातायात सञ्चालनमा सहजीकरण गर्न मकवानपुर, दोलखा, ललितपुर, रामेछाप लगाएतका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत समन्वय गरिएको बताए । उनले भाडा बढी असुल गरेका यात्रुहरुको भाडा फिर्ता गर्न र कारवाहि गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिईएको बताए ।





















