सिन्धुली / दशदिन देखि अनसनरत गौमती माविका शिक्षकहरुको आन्दोलन शुक्रबारदेखि सकिएको छ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले साउन १६ गते गरेको सरुवाप्रति असन्तुष्टी जनाउँदै अनसन बसेका शिक्षकहरुको आन्दोलन तीनबुँदे सहमति पछि टुंगिएको हो ।
गौमती माध्यमिक विद्यालय, माढी बजारमा कार्यरत शिक्षक विष्णुप्रसाद फुयाल र शंकरप्रसाद ढकालले आफूहरूलाई बिना जानकारी अन्य विद्यालयमा खटाइएको भन्दै विद्यालय परिसरमै १० दिनदेखि रिले अनशन जारी राखेका थिए ।
उनीहरुले सरुवा गर्दा सहमति नलिई र विना जानकारी गराईएको भन्दै आन्दोलनमा उत्रेका थिए । अनसनरत शिक्षकहरुले आउँदै गरेको एसईईको पुरक परीक्षालाई मध्यनजर गर्दै विद्यालयमा बस्दै आएको अनसन अन्त्य गरि हाललाई कामकाज गर्न खटाईएको विद्यालयमा हाजिर हुने र शिक्षक दरबन्दी मिलान कार्यदलको काम सुरु भईसकेकाले उनीहरुलाई रोजेको विद्यालयमा कामकाज खटाउने सहमति गरिएपछि आन्दोलन स्थगित भएको हो ।
शुक्रबार नगरपालिकाका प्रतिनिधिहरू, विभिन्न शिक्षकहरुका संगठनका पदाधिकारीहरू तथा सरोकारवाला निकायहरूबीच छलफलपछि सहमति भएको हो । सहमतिमा शिक्षक,कर्मचारीहरुले ससम्मान शान्तपूर्ण वातावरणमा गर्न पाउनुपर्ने सहज स्थिति कायम गर्ने सुनिश्चितता विद्यालयले गर्नुपर्ने उल्लेख छ ।
यस्तै कमलामाई नगरपालिकाबाट गरिने दरवन्दी मिलान, विद्यालय मर्जिङ, शिक्षकलाई कामकाज गर्न खटाउने लगाएतका शिक्षक तथा विद्यालय सम्बन्धि कार्यहरु सम्पादन गर्दा नगरभित्र क्रियाशिल शिक्षकका पेशागत संस्थाका प्रतिनिधिहरुको छलफल सहभागिता र सहमतिमा गरिनुपर्ने सहमति भएको छ ।
कमलामाई नगरपालिका शिक्षा समितिको बैठकबाट गौमती माविका शिक्षकहरुलाई प्रतिशोध साँध्न गरिएको सरुवा बदर गर्नुपर्ने, विद्यालयमा चलिरहेको बेथितिको अन्त्य गरिनुपर्ने, विद्यालय व्यवस्थापन समितिबाट विद्यालयका शिक्षक कर्मचारीलाई डर, त्रास, धम्कि दिने काम अन्त्य गरि स्वच्छ शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने माग सहित अनसनमा बसेका थिए ।
दरबन्दी मिलान कार्यदलले शिक्षकहरूको प्राथमिकतामा आधारित सरुवालाई प्राथमिकता दिने गरी प्रतिवेदन तयार पार्ने जनाएको छ । सहमतिमा कमलामाई नगरपालिकाका सामाजिक विकास संयोजक उज्जल कुमार थापा, विभिन्न शिक्षक संगठनका स्थानीय अध्यक्षहरू तथा अनसनरत शिक्षकहरू उपस्थित थिए ।





















