सिन्धुली । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा वृहत रक्तदान कार्यक्रम गरेको छ । अस्पतालहरुमा रगतको अभाव हुन नदिन र विरामीलाई रगत अभावका कारण ज्यान गुमाउन नपरोस भनि योगदान गर्ने उद्देश्यले युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको संघका सचिव श्रवण नेवा खड्गीले बताए ।
कार्यक्रममा दुई जना महिला र १९ जना पुरुष गरि २१ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको उद्घाटन युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य देवराज वाईवाले गरेका थिए ।
युवा संघ सिन्धुलीका अध्यक्ष अरुण लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाल पत्रकार महासंघका बागमती उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्ले सहितका पत्रकारहरु, राष्ट्रिय युवा संघका केन्द्रीय तथा जिल्ला नेताहरु, अनेरास्ववियुका नेताहरु, अनेमसंघका नेताहरु, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका कोषाध्यक्ष पुरुषोत्तम अधिकारी, स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियो ।





















