सिन्धुली । दुधौली नगरपालिका वडा नं. २ को लामिडाँडामा धारिलो हतियार प्रयोग गरि एकजनाको हत्या भएको छ । सोमबार मधुगंगा महादेव मन्दिर जाने तिर्थालुहरुको झगडा हुँदा एक जनाको हत्या भएको हो ।
करीब ३० वर्ष उमेरको देखिने तराई मुलको पुरुषको छातीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेको वा अन्य हतियार प्रयोग गरेको हो भन्ने विषयमा भने प्रहरीले केहि खुलाएको छैन ।
सोमबार दिउँसो गोली चलेको, मान्छे मारेको खबर सुनेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । चार पाँच जनाको समूहले आफ्नै साथीको हत्या गरेको र स्थानीयले देखेपछि भागेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
मृतकको शव लामिडाँडा पदम घिसिङको गाईगोठमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाशन सुवेदीले बताए । दिउँसो घटना भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेको प्रहरी टोली घटनास्थल गएको डिएसपी सुवेदीले बताए ।
प्रहरीले घटनास्थलबाट चुप्पी र खुर्पा बरामद गरेको छ । मृतकको पहिचान खुल्न नसकेको र शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल सिन्धुलीमा ल्याईदै गरेको प्रहरीले जनाएको छ ।




















