सिन्धुली । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलत्कार गरेको आरोपमा शुक्रबार एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मरिण गाउँपालिका वडा नं. १ बसेरीमा रहेको निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षिय छात्रालाई सोहि विद्यालयका विज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख वि.कले आफ्नै कोठामा बोलाई बलत्कार गरेको आरोपमा शिक्षकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती साढे दश बजेदेखि विहिबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको भनि प्रहरीलाई जानकारी आएपछि शिक्षक वि.कलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए ।
उनका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरि र वडाका वडाअध्यक्ष हिरा बहादुर गुर्मछानले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
सोहि जानकारी अनुसार इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुरगढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो भने बालिकाको उद्धार गरेको छ ।
बालिकाको उद्धार र शिक्षकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान र स्वास्थ्य परिक्षणका लागि पीडित र पीडक दुवैलाई सिन्धुली ल्याईएको खड्काले बताए ।





















