सिन्धुली । जिल्लाको विपद व्यवस्थापन र सुरक्षा निकाय बाढी पहिरोका कारण विपी राजमार्गमा अलपत्र परेका नागरिकहरुको उद्धारमा सक्रिय भएको छ । आइतबार सडक र हवाई मार्गबाट उद्धारलाई तिव्रता दिईएको हो ।
आइतबार मात्र विपी राजमार्गको सिन्धुली खण्डका विभिन्न ठाउँमा अलपत्र परेका करीब साढे चारसय अलपत्र यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नेपालथोक र मंगलटार बीचका ३४ जना यात्रुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत् उद्दार गरिएको छ । एक जना रिपब्लिकन नागरिक सहित ३४ जना वृद्धवृद्धा, महिला बालबालिकालाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गजुलीदहबाट उद्धार गरेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
यस्तै उक्त सडकको झाँगाझोली रातामाटामा अलपत्र परेका ५ जना वेलायती नागरिकलाई आइतबार साँझ प्राईभेट हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपालथोकदेखि खुर्कोटसम्मको सडक एकतर्फी सञ्चालनमा ल्याएर सडक मार्गबाट करीव ४ सय नागरिकको उद्धार गरि सिन्धुली हुदै गन्तव्यमा पु¥याईएको पनि काफ्लेले बताए । उनका अनुसार सडक सञ्चालन गरि ९३ वटा नेपाली गाडी र ५ वटा भारतीय गाडीलाई सिन्धुलीतर्फ ल्याइएको छ ।
सुनकोशीको दुम्जादेखि आँपघारी र देवीस्थानमा अझै ३०, ३५ जना यात्रुहरु अलपत्र अवस्थामा रहेको र १५, १६ गाडी रहेको पनि उनले जानकारी दिएका छन । उनीहरुको उद्धार सोमबार गरिने पनि उनले बताए । सडक भत्किएका कारण काठमान्डौ र सिन्धुली दुवैतर्फ जान नसकेका यात्रुहरुलाई हेलि मार्फत भए पनि उद्धार गरिने उनले बताए ।
दुम्जामा २ सय मिटर सडक भासिएका कारण समस्या भएकाले उनीहरुको उद्धार हुन सकेको छैन । विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा भासिएर ट्रयाक समेत नभएका स्थानमा सोमबार नै ट्रयाक खोलेर सडक सुचारु गर्ने गरि प्रयास भईरहेको पनि उनले बताए ।
विपी राजमार्ग सुचारु गर्न, राहत, उद्धारको काम गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले राहत र उद्धारका काम गरिरहेका छन ।




















