सिन्धुली । भन्सार छली गरि विरगञ्जबाट काठमान्डौतर्फ लाँदै गरिएको ८५ बोरा केराउ सिन्धुली प्रहरीले शनिबार साँझ बरामद गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बोलेरोमा लुकाएर ल्याईएको ३० केजीको ८५ बोरा केराउ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बरामद गरिएको केराउ २ लाख १२ हजार पाँचसय रुपैंया बराबरको रहेको प्रहरीले जनाएको छ । भारतीय आरआर उद्योग लेखिएको बोरामा रहेको केराउ बरामद गरि थप अनुसन्धान तथा कारवाहिको लागि आइतबार सामान र गाडी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार बरामद गरिएको केराउ प्र२–०१–००१च०४०२ नम्बरको बोलेरोमा लुकाई छिपाई काठमान्डौ लाँदै गर्दा बरामद गरिएको थियो । उक्त गाडीको १२ लाख विगो कायम गरिएको प्रहरीले जनाएको छ ।





















