सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा बैशाख ७ गते रहस्यमय मृत्यु भएका सुनकोशी गाउँपालिका वडा नं. ३ का श्रीकृष्ण वि.कको न्यायका लागि सत्तारुढ दलका सांसदहरु जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसेका छन् । उनीहरु विहिबार साँझबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना बसेका हुन् ।
विहिबार सिन्धुलीमाढी पुगेर स्थानीय प्रशासन, प्रहरी र मृतकका परिवारसँग भेटेपछि न्यायको माग गर्दै सांसदहरु नै धर्ना बसेका हुन् । धर्ना बस्ने सांसदहरुमा खगेन्द्र सुनुवार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश वि.क, खिमा विश्वकर्मा र आशिष गजुरेल रहेका छन् ।
प्रहरीको हिरासतमा दलित युवा वि.क.को शंकास्पद मृत्यु भएपछि पीडितहरु न्यायको माग गर्दै आन्दोलनमा छन् । उनीहरुले न्यायीक छानविन आयोगको माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुखको निलम्बनको माग गर्दै धर्ना बसेका हुन् ।
वि.कको मृत्युलाई परिवारले हत्या भएको जनाएको छ । उक्त घटनामा जिम्मेवार अनुसन्धान नगरेको भन्दै प्रतिनिधिसभा सदस्यहरु समेत आन्दोलित छन् ।






















