सिन्धुली । चाडवाड लक्षित सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले सवारी चालकलाई प्रतिवद्धता गराउन सुरु गरेको छ । साना सवारी साधन, नीजि सवारी साधन, ठूला सवारी तथा मोटरसाईकल, स्कुटरलाई सवारी साधन चलाउँदा अपनाउने सतर्कता सहितको प्रतिवद्धतामा हस्ताक्षर गराईएको छ ।
संविधान दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालकहरुलाई प्रतिवद्धता गराउन सुरु गरेको हो ।
सिन्धुलीमाढीको वसपार्कमा चाडवाड लक्षित सवारी दुर्घटना न्युनिकरणका लागि सवारी चालकको प्रतिवद्धता समुद्घाटन कार्यक्रमको आयोजना गरि चालकहरुलाई प्रतिवद्धता गराउन सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शर्माले सार्वजनिक सवारी साधनमा स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरेका छन ।
ट्राफिक नियमको पालना गरौं, लेन अनुशासनको पालना गरौं, जथाभावी ओभरटेक तथा पार्किङ नगरौं, तिव्र गतिमा सवारी नचलाऔं, पैदल यात्रुलाई सधै प्राथमिकता दिने गरौं भन्ने सन्देश लेखिएको स्टिकर टाँस्न सुरवात गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सडक सुरक्षा र यात्रु सुरक्षाको विषय ३६५ दिन कै विषय भएको बताए । उनले चाडपर्वका अवसरमा सडक सुरक्षा र यात्रु सुरक्षाको विषय झनै संवेदनशिल रहेको बताएका छन । प्रजिअ शर्माले सडक र यात्रु सुरक्षामा चालक मात्र संवेदनशिल भएर नहुने र सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले चाडवाडलाई लक्षित गरेर दुर्घटना न्युनिकरण अभियान चलाईएको बताए । उनले सरोकारवाला पक्ष सबैलाई अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन । काफ्लेले चाडवाडमा यात्रुहरुलाई समस्या हुन नदिन जिल्लाका कमलामाई नगरपालिकाको वसपार्क, भिमान, दुधौली, डकाहा, खुर्कोट, दुम्जा लगाएतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिने समेत बताएका छन ।
कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा रहेको चेकपोष्टमा उक्त अभियान नियमित रुपमा सञ्चालन हुने जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख इश्वर बहादुर थापाले बताए । चालकहरुलाई प्रतिवद्धता गराउने तथा सवारी साधनमा स्टिकर टाँस्ने अभियान निरन्तर चलिरहने छ ।























