सिन्धुली । फागुन २१ गते हुने निर्वाचनको तयारी तिव्र भएको छ । मतदानको तयारीसँगै मतगणनाको तयारी समेत सुरु गरिएको छ । मतगणनास्थल प्रविधिमैत्री र सुरक्षित बनाईंदै छ । निर्वाचन क्षेत्र नं. १ र २ का लागि छुट्टाछुट्टै मतगणनास्थल निर्माण सुरु गरिएको छ । एउटा क्षेत्रको तीन ठाउँमा मतगणना गर्न सकिने गरि मतगणनास्थल निर्माण सुरु गरिएको हो ।
मतगणनाका लागि तारबार सहित सिसिटिभि निगरानी समेतको व्यवस्था गरिन लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीको भवनभित्र तल्लो तला र माथिल्लो तलामा दुई वटा क्षेत्रको छुट्टा छुट्टै मतगणना गर्ने गरि मतगणना स्थल निर्माण सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार तारबार, सिसिटिभि र लाईन जाँदा समेत बत्ति ननिभ्ने गरि इन्भर्टर र व्याट्री सहितको व्यवस्था सहित मतगणना स्थल निर्माण गरिदैं छ । मतगणनाको परिणाम मोवाईलमा हेर्न सक्ने गरि प्रविधिमैत्री बनाउने तयारीमा कार्यालय रहेको उनले जानकारी दिएका छन् ।
मतगणना स्थल व्यवस्थापनमा बजेट अभावका बाबजुद सहयोग मागेर भए पनि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित गर्न लागिएको उनले बताएका छन् ।
सरकारी तथा नीजि क्षेत्रको सहयोगमा व्यवस्थित मतगणनास्थल बनाउन थालिएको उनले जानकारी दिएका छन् । मतगणनास्थल निर्माणमा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले सिसिक्यामेरा उपलब्ध गराएको छ । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिन्धुलीले तारजाली, कमलामाई नगरपालिकाले इन्भटर र कोलेनिकाले व्याट्रीको समेत व्यवस्था गरेको छ ।
यस्तै निर्वाचनमा सञ्चारकर्मीहरुलाई रिपोर्टिङ गर्न सहज बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडिया डेस्कको समेत व्यवस्था गरेको छ । जुन डेस्कले उमेदवारी दर्तादेखि नै काम गरिरहेको छ । जिल्लाका सबै सञ्चारकर्मीहरुले ह्वाट्सएप मार्फत सूचना पाउने व्यवस्था गरिएको छ । मतगणनाको समयमा मोवाईल एप्स नै प्रयोग गर्न मिल्ने व्यवस्था मिलाउने पनि विष्टले जानकारी दिएका छन् ।





















