सिन्धुली । सरकारबाट अनुदान प्राप्त रासायनिक कृषि मल कालो बजारी गरेको आरोपमा विहिबार दुधौली नगरपालिका वडा नं. ९ दुधौलीबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नं. ९ का ४३ का पशुपति मण्डल, सिराहा मिर्चैया नगरपालिका वडा नं. २ का २५ वर्षका रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका वडा नं. ३ का ४९ वर्षिय लालप्रसाद बास्तोला रहेका छन् ।
डिएपी र युरिया मलसँगै प्रहरीले स१ख८०० नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन, मिर्चैयाबाट किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले दुर्गा भवानी कृषि सहकारी संस्था लिमिटेड, कटारीको नाममा पठाईएको मल बरामद गरिएको हो । ट्रकमा ५० केजी तौलका २ सय १६ बोरा रासायनिक मल ल्याईएको थियो ।
उक्त मल ट्रकबाट बीच बाटोमै अनलोड गरी अवैध रूपमा भण्डारण तथा बिक्री गर्न खोजिएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
डिएसपी सुवेदीका अनुसार उक्त मल दुधौली नगरपालिका वडा नं. ९ का पशुपति मण्डलको पशुपति किराना पसलको गोदाममा झार्दै गर्दा प्रहरीले छापा मारेको थियो । अनुसन्धानका क्रममा उक्त गोदामबाट थप मल समेत बरामद बरामद भएको छ । गोदामबाट जम्मा ३ सय १८ बोरा अनुदान प्राप्त रासायनिक मल नियन्त्रणमा लिइएको सुवेदीले बताएका छन् ।
बरामद मल सहित ट्रकलाई इलाका प्रहरी कार्यालय डकाहामा लगि अनुसन्धान सुरु गरिएको छ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई आईतबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको सुवेदीले बताएका छन् ।






















